जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश २ का दुई जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा कुटाकुट भएको छ।
एकअर्काको कुटाईबाट झण्डै आधा दर्जन नेता र कार्यकतहरु घाइते भएका छन् । घाइते मध्ये एक जनाको टाउको नै फुटेको छ। बर्दिवासस्थित सेवा समितिको हलमा सप्तरी र सिरहाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा कुटाकुट भएको प्रहरीले जनाएको छ।
शपथ ग्रहण कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै नेतारकार्यकर्ताहरुले नाराबाजी सुरु गर्दै हलभित्रका कुर्सीहरु तोड्फोड गरेका छन्। पार्टीका अध्यक्ष तथा महासचिवले शपथ ग्रहण स्थगित गर्न निर्देशन दिएपनि अध्यक्ष प्रभु साहसहितकाले बलजफ्ती गर्न खोजेपछि झडप भएको थियो। असन्तुष्ट कार्यकर्ताहरुले अध्यक्ष प्रभु साहलाई हलबाट बाहिर निकालिदिएका छन्।
असन्तुष्ट समूहले नाराबाजी गर्दै कुर्सी तोड्न थालेपछि दुईतर्फी झडप भएको छ। झड्पलाई नियन्त्रण गर्न आएको प्रहरीले लाठी प्रहार गर्दा नेकपाका सप्तरी नेता देबनाथ यादवको टाउको फुटेको छ। उनी प्रदेश कमिटि सदस्य हुन्। यस्तै सप्तरीकै युवा नेता मधुसुदन यादवको खुट्टामा चोट लागेको छ।
नेकपाका प्रदेशस्तरीय नेताहरु अहिले सुरक्षा घेरामा बसेका छन्। जिल्ला कमिटिमा कहिले सदस्य नै नभएका व्यक्तिलाई जिल्ला सदस्य बनाएको भन्दै सप्तरी, सिरहासहित प्रदेश २ को आठै जिल्लामा विवाद उत्पन्न भएको थियो।
यो विवादको समाधान नगरी शपथ ग्रहण गराउन लागेकाले नेतारकार्यकर्ताहरु यसअघि नै असन्तुष्ट बनेका थिए। पूर्व मन्त्री उमेश यादवले नेताहरुले आफ्ना चालक, भान्सेलाई पनि सदस्य बनाई पदाधिकारी बनाएको बताएका छन्। यादवले सप्तरीको शपथ ग्रहण सप्तरीमै गरिनुपर्नेमा महोत्तरी ल्याउनुको कुनै तुक नभएको बताए। अहिले पार्टीका प्रदेश नेता सुमनराज प्याकुरेल र महेन्द्र पासवानले दुबै पक्षसँग वार्ता गरिरहेका छन्।
महोत्तरीको बर्दिवासमा आठै जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण गर्ने कार्यक्रम निर्धारण गरिएकोमा मंगलबार सप्तरी र सिरहाका पदाधिकारीहरुको मात्रै शपथ ग्रहण कार्यक्रम राखिएको थियो।