काठमाडौ – इन्द्रजात्रा महोत्सव मनाउन हनुमानढोका दरबार परिसरमा कालभैरवको विशाल मूर्तिअगाडि मंगलबार इन्द्रध्वजासहितको लिंगो ठड्याइएको छ र अब राजधानीमा विभिन्न कार्यक्रमसहित एक सातासम्म इन्द्रजात्रा महोत्सव मनाइन्छ।
इन्द्रध्वजा राखी सांस्कृतिक बाजागाजा, बैन्डबाजा र पञ्चैबाजा बजाएर झण्डैं ३२ हातको लिंगो मंगलबार बिहान ९ बजेर १७ मिनेटको शुभ साइतमा ठड्याइएको थियो। नेपाली भाषामा ’योसीं’ भनिने उक्त लिंगोमा विभिन्न प्रकारका मंगल सूचक चिह्नहरू अंकित पताकाहरू झुन्ड्याइएको थियो। लिंगोको फेदीमा हात्ती चढेको इन्द्रको सानो प्रतिमा राखी पूजाअर्चना गरिएको थियो।
लिंगो ठड्याएपछि सैनिकहरूले बन्दुक पड्काएर बढाइँ गरेका थिए। त्यसपछि गुरुजुको पल्टन, पञ्चैबाजा, बैन्डबाजा,मानन्धरहरूका क्वँचाः खीं बाजा मा मालश्रीको धुन बजाउँदै लिंगो परिक्रमा गरेका थिए।
समारोहस्थलमा किलाघः टोलका ज्यापू समुदायले परम्परागत देवीनाच प्रस्तुत गरेको थियो। साथै, राजप्रतिनिधिका रूपमा राजखड्ग ल्याइएको थियो। लिंगो ठड्याएको हेर्न निकै संख्यामा विदेशी पर्यटकसमेत भेला भएका थिए।
राजधानीदेखि पूर्वमा पर्ने नाला भन्ज्याङको सल्लेरी वनबाट तानेर ल्याइएको उक्त लिंगोलाई बाजागाजासाथ तानेर त्यहाँ र्पुयाइएको थियो। इन्द्रजात्राको अवसरमा लिंगो ठड्याउने परम्परा राजा सिंहप्रताप शाहले चलाएका थिए।
लिंगो ठड्याएको ठाउँसँगै रहेको इन्द्रपुरको मन्दिरको माथिल्लो तलामा सुनको इन्द्रेश्वर महादेवको मूर्ति र हनुमानढोका दरबारसँगै सुनको मोलम्मा लगाइएको श्वेत भैरव (सभा मुख) को विशाल प्रतिमा पनि प्रदर्शनका लागि राखिएका थिए। साथै काष्ठमण्डप (मरुसत्तल) अगाडि अग्लो डबली बनाई त्यसमाथि खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर प्रदर्शनका लागि राखिएको थियो।
इन्द्रजात्रा मनाउन कुमारीघर, मरुसत्तल, सिंल्यँ सत्तल, हनुमानढोका दरबार लगायत मन्दिरमा रङरोगन लगाई नयाँ झल्लर राखी सिंगारिएको छ। इन्द्रचोकमा रहेको आकाश भैरवको मूर्तिलाई राति बाहिर खट बनाएर विभिन्न प्रकारका रंगीचंगी फूलले सिंगारेर राखिएको थियो।