काठमाडौं — पशुपतिमा साँझ हुने गंगा आरतीअघि राष्ट्रियगान गाउनुपर्ने निर्देशन सरकारलाई फिर्ता लिन गरिएको अनुरोध नसुनिएपछि गंगा आरती सेवा सञ्चालक समितिले त्यसको अवज्ञा गर्ने निर्णय गरेको छ।
सोमबारको समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको स्रोतको भनाइ छ। संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले गंगा आरतीको प्रारम्भ राष्ट्रिय गानबाट गर्नुपर्ने निर्देशन दिएपछि भदौ १३ बाट आर्यघाटमा हरेक साँझ राष्ट्रिय झण्डा फहराएर राष्ट्रिय गान गाउने गरिएको थियो।
तर आरती हुने स्थान नजिकै मृतकहरूको अन्त्येष्टि हुने र शोकाकुल आफन्त असहज परिस्थितिमा रहेको बेला राष्ट्रिय गान गाउन उचिन नहुने समितिको दाबी छ।
‘परम्परा देखि नै पशुपतिनाथको नित्य आरती मूल मन्दिरभित्र हुन्छ र कहिल्यै रोकिँदैन, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले भने, ‘मन्दिरको आरतीपछि बाग्मती किनारमा गंगा आरती हुन्छ। कोष र पशुपतिनाथ बाग्मती गंगा आरती परिवारबीचको सहकार्यमा गंगा आरती हुँदै आएको छ।’
सरकारको आदेशलाई कोषले अवज्ञा नगर्ने उल्लेख गर्दै सदस्य सचिव ढकालले भने, ‘सहकार्य रहेको संस्थाले एकतर्फी अवज्ञा गरेमा सहमति प्रति पुन : बिचार गर्नुपर्छ भने।’