काठमाडौ– एसिसी यु-१९ एसिया कपअन्तर्गत नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। श्रीलंकामा जारी प्रतियोगितामा युएईले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो।
समूह ’बी’ मा रहेका नेपाल र युएई यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्। त्यसैले खेल प्रतिष्ठाको लडाइँमा सीमित हुनेछ। त्यसो त चार महिनाअघि मलेसियामा भएको आइसिसी यु–१९ छनोटमा वर्षाले अबरुद्ध खेलमा युएईसँग १ रनले पराजित भएको हारको बदला लिन नेपाललाई अवसर छ।
सो हारसँगै नेपाल यु–१९ विश्वकपमा छनोट हुन असफल भएको थियो। नेपाल र युएईलाई पराजित गरेका श्रीलंका र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन्। प्रतियोगिताको समूह ‘ए’ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका थिए। समूहबाट पाकिस्तान र कुवेत बाहिरिएका थिए।
नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख, भीम सार्की, सूर्य तामाङ, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा रहेका छन्।