काठमाडौं – अब २ लाख रुपैयाँभन्दा बढीको कारोबारमा चेक नचाहिने भएको छ। हाल बैकिङ प्रणलिमा २ लाखको कारोबारलाई स्वेच्छिक बनाइएको छ भने २० लाखभन्दा बढीको कारोबार गर्दा रियल टाइम ग्रस सेटलमेन्ट प्रणालीमार्फत अनिवार्य रुपमा भुक्तानी गर्नुपर्नेछ।
रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली शुरुवात भएपछि २ लाखभन्दा माथिको कारोबारको लागि चेक काट्न नपर्ने भएको हो। नेपाल राष्ट्र बैङ्कले रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) लागु गरेको छ। योसँगै २ लाख बढीको कारोबारमा चेक नचाहिने व्यवस्था भएको हो। नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले ‘क’ वर्गका बैङ्कहरुका लागि मङ्गलबारबाट लागु हुने गरी प्रणालीको शुरुवात गरेको छ।
यसका लागि भदौ १९ मा केन्द्रिय बैङ्कले आरटीजीएस नियम लागु गरेको थियो। विकास बैङ्क र फाइनान्स कम्पनीका लागि भने यसमा सहभागि हुनका लागि पुस मसान्तभित्र आवेदन दिनुपर्ने व्यवस्थ गरिएको छ।
एउटा बैङ्कमा खाता भएको व्यक्तिले अर्को बैङ्कमा खाता भएको व्यक्तिलाई ठूलो परिणाममा भुक्तानी दिन यो प्रणाली लागु गरिएको हो। यसअघि चेकबाट मात्रै भुक्तानी हुन्थ्यो। जसको क्लियरिङ भुक्तानीको भोलिपल्ट मात्रै हुन्थ्यो। अब तत्काल क्लियरिङ हुन्छ।
आरटीजीएसमा प्रत्यक्ष सहभागी भएका बैङ्कहरुले स्ट्रेट रु प्रोसेसिङ (एसटीपी)मार्फत् कारोबार गर्नुपर्नेछ। तर केही बैङ्कहरु एसटीपी लागु गर्ने क्रममा रहेकाले यस सिस्टमको वेभ सर्भिसमार्फत म्यानुअल्ली पनि कारोबार गर्न सक्नेछन्।
आरटीजीएस प्रणाली लागु भएपछि चेक चाहिँदैन। भुक्तानी गर्ने खातावालाले अर्को बैङ्कको खाता नम्बरमा यति रकम भुक्तानी गरिदिनु भन्ने आदेश दिनेबित्तिकै भुक्तानी हुन्छ। भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले २ लाखभन्दा बढीको कारोबार र २० लाख भन्दा बढीको कारोबार गर्दा आरटिजिएस प्रणालीमार्फत गर्नुपर्ने बताए।