झापा – झापाको गौरादह नगरपालिकामा आइतबार राति अज्ञात समूहले बम विष्फोट गराएको छ। बिस्फोटमा परी प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन्।
मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको हो। करिव राति १२ः३० बजे अज्ञात समूहले बम विष्फोट गराएको भन्ने प्रहरी नायब उपरीक्षक श्रेष्ठ जानकारी दिए।
त्यसैगरी बिर्तामोड नगरपालिका–२ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा राति नै बम विष्फोट भएको छ। यसअघि विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा समेत बम विष्फोट भएको थियो।
एकै समयमा दुवैतर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह(विप्लव)का कार्यकर्ताले बम विष्फोट गराइएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ। त्यसैगरी प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ।