काठमाडौँ – अफगानस्तानको काबुलमा तीजका दिन राति भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको लास नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पहल गरेका छन्।
गत सोमबार अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती वम विस्फोटमा परि भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनको ज्यान गएको थियो। मृतक थापाकी बहिनी सावित्री अधिकारीका अनुसार शुक्रबार अध्यक्ष दाहालले भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी ती शव नेपाल ल्याउनका लागि पहल गरिदिन आग्रह गरेको हो।
उनले यस विषयमा अध्यक्ष दाहालले चासो दिएर लगातार ती निकायमा सम्पर्क गरिरहेको जानकारी दिए। उनको टेलिफोन लगत्तै शनिबार उनीहरूको मृत्युको प्रमाणपत्र आएको, सोमबार साँझसम्ममा लास आइपुग्ने जानकारी प्राप्त भएको र मृतकका परिवारले पाउन सक्ने क्षतिपूर्तिका विषयमा पनि पहल भइरहेको बहिनी अधिकारीले बताइन्।
‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा उनीहरु काम गर्थे। पैँतालिस दिनको बिदा सकेर काबुल फर्किएको नौं दिनको दिनमा थापाको आतङ्कवादीको हमलामा परि निधन भएको थियो। विगत १० वर्षदेखि थापा क्यानेडियन सुरक्षा कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका थिए र अन्तिम पटकका लागि भन्दै काबुल गएको उनकी श्रीमती लक्ष्मीदेवीले बताइन् र मृतक थापाका बाबु, आमा, श्रीमती र दुई छोरा छन्।