काठमाडौं – यातायात व्यवस्था विभागले भदौको अन्तिमबाट दशैँको लागि अग्रिम टिकट बुकिङ खोल्ने भएको छ। विभागका महानिर्देशक गोगन बहादुर हमालले भदौमै टिकट बुकिङ खोल्ने गरी तयारी गरेको बताए।
उनका अनुसार यसका लागि यहि २५ गते व्यवसायीसँग छलफल भएर टुङ्गो लाग्नेछ। अग्रिम टिकट खुलाउन यातायात व्यवसायी र विभागबीच छलफल भइरहेको छ। दशैँको घटस्थापनादेखि राजधानीमा बस्नेहरु दशैँ मनाउँन आफ्ना घर जाने गर्छन्। दशैँका समयमा सबैभन्दा बढी मासिनले राजधानी छाड्ने भएकाले हरेक वर्ष अग्रिम टिकट बुकिङ हुँदै आएको छ।
यता व्यवसायीहरुले भाडा समायोजन पनि दशैँअघि नै गर्नुपर्ने माग राख्दै आएका छन्। भाडा समायोजन हुने/नहुने विषयमा भने निष्कर्षमा पुग्न बाँकी रहेको हमालले बताए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला अग्रिम टिक बुकिङ अबको बैठकले टुङ्गो लगाउने बताएका छन्।
यद्यपि, यातायात कम्पनीमा रुपान्तरण भएपनि स्पष्ट नियम नआएपछि गाडी थप्न सक्ने अवस्था नभएकोले यातायात व्यवस्थापनमा चुनौती रहेको उनले जिकिर गरे।२०६९ सालदेखि भाडा समायोजन नभएकोले यसमा सरकार नै जिम्मेवार भएर समायोजन गर्नुपर्ने सिटौलाको तर्क छ। पुरानै भाडाका कारण यातायात व्यवसाय अत्यन्त मारमा परेको उनको भनाइ रहेको छ।