काठमाडौँ – तीन वर्षयता ग्रील व्यवसायमा काम गर्ने ५३ जना श्रमिकको ज्यान गएको पाइएको छ। ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालका अध्यक्ष मोहन कटुवालले सामान्य सुरक्षामा समेत ध्यान नदिएका कारण ती श्रमिकहरुले ज्यान गुमाउनु परेको बताएका छन्।
आइतबारबाट काठमाडौँमा सुरु भएको ग्रीलमा कार्यरत श्रमिकहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले ग्रील व्यवसाय जोखिमपूर्ण भएकाले सावधानीका साथ काम गर्न पनि त्यसमा कार्यरत श्रमिकहरुलाई सचेत गराए।
अध्यक्ष कटुवालले हातमा पञ्जा लगाउने, आँखामा चश्मा लगाउने जस्ता सामान्य सावधानी नअपनाउँदा पनि ग्रीलमा काम गर्ने श्रमिकहरुको ज्यान जाने गरेकाले उनीहरुलाई सचेत गराउन प्रशिक्षणलगायतका कार्यक्रम संचालन गर्नु परेको पनि स्पष्ट पारे। महासंघले ग्रील श्रमिकहरुको सुरक्षाका लागि पनि देशभर यस्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने योजना पनि तय गरेको छ।