काठमाडौं – नेकपाका सांसद हृदयेश त्रिपाठीले न्यायोचित रुपमा कर निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।न्यायलयका दुईथरि निर्णयका कारण ठूलो मात्रामा राजश्व संकलन प्रभावित बनेको उल्लेख गर्दै उनले एनसेलबाट कर असुली गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
‘सरकार कर उठाउने हो भने एनसेलसँग उठाऊ, जनतासँग धेरै नउठाऊ। राजश्व छल्ने ठूला व्यापारीसँग उठाऊ, नागरिकलाई मारमा नपार ।’ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा यसरी आफ्नो विचार राख्दै सांसद हृदयेश त्रिपाठीले करको दर र मात्रा बढी भएका कारण नागरिकमा निराशा बढेकाले उनीहरूलाई राहत दिएर कानूनको बलमा कर छल्नेहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरे। अदालतकै फैसलाको आधारमा झण्डै झण्डै ९ खर्ब राजश्व उठ्न बाँकी छ। त्यो उठाऔं न।’
त्यसैगरी प्रतिव्यक्ति आयका आधारमा नेपालमा करको दर सर्वाधिक रहेको उनले बताएका छन्। साथै उनले औचित्यपूर्ण करको व्यवस्था गर्न समेत माग गरे। जनताबाट संकलित राजश्व विकास खर्चमा नलगाएर साधरण खर्चमा प्रयोग गर्दा सरकारको लोकप्रियतासँगै करको औचित्यमाथि प्रश्न उठ्ने गरेको उनले बताए।