काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा राष्ट्रिय विकासको महत्वपूर्ण बगैंचा भएको कारण यसबाट सबै किसिमका फल फलाउन सकिने बताएकी छिन्।
४० औं शिक्षा दिवस तथा अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसको दिन शितलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले उपलब्ध स्रोत साधनलाई अधिकतम दिगो र सुन्दरतम् प्रयोग गर्नका लागि शिक्षा प्रभावकारी साधन भएको बताएकि हुन्।
राष्ट्रपति भण्डारीले उच्च शिक्षाको आधारको रुपमा रहेको विद्यालय शिक्षालाई बदलिँदो परिवेश र मुलुकको आवश्कता अनुसार पाठ्यक्रम निर्धारण गरी गुणस्तरीय पाठ्यक्रमसहितको अध्ययन कार्य व्यवस्थित गर्न सुझाव समेत दिइन्। अध्ययनको क्रममा प्राप्त ज्ञान र सीपलाई वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प साकार पार्न सहयोग पुग्ने विश्वास आफूले लिएको बताएकि छिन्।
यसै अवसरमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका ३ सय ७३ जनालाई विभिन्न पदकले सम्मान गरेकी छिन्। राष्ट्रपति भण्डारीले ‘क’ श्रेणीको नेपाल विद्याभुषण पदकबाट २ सय ३१ जना, ‘ख’ श्रेणीको नेपाल विद्याभुषण पदकबाट १सय १ जना र ‘ग’ श्रेणीको नेपाल विद्याभुषणबाट पदक ११ जनालाई सम्मानित गरेकी छिन्। यस्तै राष्ट्रपति भण्डारीले स्नातक तर्फका छात्रा मध्येका २३ तथा प्रमाणपत्र तह तर्फका छात्रा मध्ये उत्कृष्ट ७ जनालाई छात्रा विद्या पदकले सम्मानित गरेकी हुन्।