काठमाडौँ - सोमबार र मंगलबारको अधिकांश समय राजनीतिक भेटघाटमा बिताउने योजना लिएर चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार दिउसाँे काठमाडौँ आइपुग्ने भएका छन्। विदेशमन्त्री यीले सोमबारको संयन्त्र बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् र नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुले पनि विदेशमन्त्रीलाई भेट्ने कार्यक्रम प्रस्तावित छ।
विदेशमन्त्री यीले नेपालको विशेष प्राकृतिकस्थल भ्रमण गर्न चाहेकोमा खण्डमा मुस्ताङको जोमसोम जान सक्ने संभावना देखिएको छ। विदेशमन्त्रीको इच्छाअनुसार, सोमबार बिहान चार्टड फ्लाइटमा जोमसोम गएर काठमाडौं फर्कने प्रारम्भिक तयारी भैरहेको स्रोतले जानकारी दियो। ‘तर, मौसमको अनुकुल स्थिति हेरेर मात्र जोमसोम जाने टुङ्गो लाग्नेछ,’ स्रोतले भन्यो। विदेशमन्त्री यी मंगलबार दिउँसो विशेष विमानबाट बेइजिङ फर्कनेछन्।
उच्च स्रोतले चिनियाँ राष्ट्रपति सी जिनपिङको अक्टोबर दोस्रो साता नेपाल भ्रमण बारे ‘तत्कालै टुङ्गोमा पुग्न नसकिने बतायो। ‘आगामी अक्टोबर महिनामैं तिब्बतको सिगात्सेमा हुन लागेको ‘तिब्बतमा प्रजातान्त्रिक सुधार’ को ६० वर्षे उत्सवमा राष्ट्रपति जिनपिङ सहभागी हुने निश्चित भैसकेको छ,’ चिनियाँ दूतावाससम्बद्ध स्रोतले बतायो,‘त्यस अवसरमा पनि राष्ट्रपति नेपाल आउन सक्ने सम्भावना छ।’
केही समय अघि अक्टोबर ११ देखि १३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सिनपिङबीच भारतको तामिलनाडुको मामलपुरमा भेटवार्ता भएपछि केही घण्टाका लागि राष्ट्रपति काठमाडौं आउने हल्ला चलिरहेको छ। तर, भारतमा हुने भनिएको चिनिया राष्ट्रपतिको भ्रमण केही पर सर्ने संकेत समेत देखिएको छ।
चिनियाँ विदेशमन्त्री यी पनि सेप्टेम्बर ९–१०(भदौ २३–२४) मा दिल्ली भ्रमणमा गएर भारत–चीन सीमा बैठकमा सहभागी हुने निश्चित भैसकेको थियो। तर, कश्मिर मामलाको कारण चीनको सिमावर्ती बिन्दू समेत जोडिएको भारत राज्य लद्दाख मामलामा चिनियाँ ‘रिजर्भेसन’का कारण अन्तिम घडीमा आएर विदेशमन्त्री यीको दिल्ली भ्रमण रोकिएकोे थियो।
दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सुरक्षा सल्लाहकार अजित डोबलसँग विदेशमन्त्रीको सीमा सुरक्षा बैठक हुने भनेर विदेश मन्त्रालयले औपचारिक रुपमा जानकारी गराइसकेको थियो। शनिबार बेइजिङबाट इस्लामावाद उत्रिएका विदेश मन्त्री यी पाकिस्तान–अफगानिस्तान–चाइना त्रिदेशीय बैठक सम्पन्न गरेर आइतबार अपरान्ह काठमाडौं आउन लागेका हुन्।
सोमबार बिहान ९ बजेपछि विदेश मन्त्री यीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुसँग भेटवार्ता गर्ने भएका छन्। परराष्ट्र स्रोतका अनुसार, सोल्टी होटलमा बस्ने विदेशमन्त्री यीसँग मन्त्रीस्तरीय संयन्त्र बैठक भने सोमबार अपरान्ह होटल याक एण्ड यति, दरबारमार्गमा हुदैछ।
‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआइ) योजनालाई प्रभावकारी ढंगमा कार्यान्यन गर्न संयन्त्र बनाइने र नेपालले प्रस्ताव गरेका विशेष ९ वटा परियोजनामा कार्ययोजना तय गर्दै मन्त्रीस्तरीय संयन्त्र बैठकमा हस्ताक्षर हुन सक्ने परराष्ट्र अधिकारीले बताए।