रौतहट - मोटरसाइकल दाइजो नदिएको भन्दै रौतहटको राजपुर नगरपालिका ७ अकोलवामा एक महिलाको हत्या भएको छ। हत्या हुनेमा २५ वर्षीया सन्जु देवी रहेकी छिन्।
प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकको श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले बताए।
बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको उनले दाबी गरे। मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्दथे र धेरै यातना दिदै आएका थिए।
रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाइ छ। केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि जेठा ज्वाइँ रामबाबुले अनावश्यक रुपमा मोटरसाइकल माग गर्दै छोरीलाई मानसिक र शारीरिक यातना दिने गरेको उनले बताए।
केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाव दिने गरेको कुरा आफूलाई जानकारी दिएको उनको बाबुले जनाए। अनुसन्धानबाट घटना शंकास्पद रहेकाले श्रीमान र ससुरा पक्राउ गरि पोष्टमार्टम पश्चात शव परिवारजनलाई जिम्मा लगाइएको उनले बताए।