काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार मिडियामैत्री वातावरण निर्माणमा केन्द्रित रहेको बताएका छन्।
पछिल्लो समय मिडिया काउन्सिल विधेयकका सन्दर्भमा विभिन्न किसिमका चर्चा परिचर्चा चलिरहेका बेला उहाँले सञ्चारमाध्यमको विश्वसनीयता, पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने गरी सरकार अघि बढेको बताए।
वल्र्ड कम्युनिकेटर्स काउन्सिल (डब्लुसिसिआई) को नेपाल च्याप्टर तथा दक्षिण एशिया मिडिया कन्फ्रेन्सको आज यहाँ उद्घाटन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारमाध्यम जनताको भावनाको प्रतिनिधित्व गर्ने साधन भएकाले यसले प्रस्तुत गर्ने विषयवस्तु राष्ट्रहित, सामाजिक न्याय र समानतामा आधारित हुनुपर्नेमा जोड दिए।
पछिल्लो समय नेपाली मिडिया क्षेत्रमा सञ्चारसम्बन्धी अनेकन बहस तथा पक्ष र विपक्षमा बहस चुलिनु चुनौतीको विषय हो भन्दै उनले उठेका सवाललाई सामूहिक छलफलका माध्यमबाट समाधान निकालिनुपर्नेमा जोड दिए। परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल राजनीतिक सङ्क्रमण पार गरी आर्थिक समृद्धिको दिशामा अघि बढेको सन्दर्भमा सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
लगानीकर्ताको स्वार्थबाट सम्पादकीय स्वतन्त्रता कसरी जोगाउने, विषयवस्तुमा विश्वसनीयता, निष्पक्षता र व्यावसायिकता अहिलेको चुनौतीको विषय बनेको उल्लेख गर्दै उहाँले संविधानले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रातालाई व्यावसायिकतासँग जोडर अघि बढ्न सके मात्र समृद्ध समाज निर्माण गर्न सकिन्छ भने। सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सबै क्षेत्रको सक्रिय सहयोग चाहिने उनको भनाई छ।
राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमिल्सिनाले मिडियाको व्यावसायिकता अभिवृद्धि गर्ने अहिले उपयुक्त समय रहेको उल्लेख गर्दै संसद्मा रहेको मिडिया काउन्सिल विधेयकलाई सरोकारवालासँग छलफल गरेर पारित गरिनुपर्नेमा जोड दिए।
पब्लिक रिलेशन काउन्सिल अफ इण्डिया (इमिरेट चिफ) एमबी जयरामले दक्षिण एशियाली मुलुकका मिडियाले भोगेका विद्यमान समस्याको छलफल गरी सामूहिक समाधन खोज्न तथा अन्तरदेशीय सञ्चार सीप, क्षमता र ज्ञान अभिवृद्धि गर्न काउन्सिल नेपाल च्याप्टरले भूमिका खेल्ने उल्लेख गरे।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा र नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नेपालमा मिडिया क्षेत्रका समसामयिक समस्याबारे जानकारी गराएका थिए। काउन्सिल नेपाल च्याप्टरका अध्यक्ष लक्ष्मणदत्त पन्तले मिडिया क्षेत्रका साझा समस्याको छलफल गरी आगामी रणनीति बनाउन सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गरे। काउन्सिलले दक्षिण एशियाली मुलुकका साझा चुनौतीका रुपमा रहेका आर्थिक, सामाजिक, राजनीतिक, सम्पादकीय स्वतन्त्रताको प्रत्याभूतिका लागि सामूहिक पहलकदमी गर्ने बताइएको छ।
एक दिवसीय एशिया सम्मेलनमा दक्षिण एशियाली मुलुकमा सम्पादकीय स्वतन्त्रताका विषयमा प्राध्यापक पी खरेलले विशेष प्रस्तुति गर्नेछन् भने पत्रकारहरु प्रतीक प्रधान, तीर्थ कोइराला, धमेन्द्र झा, प्रकाश रिमाल, जगदीश पोखरेल लगायतले मिडियासम्बन्धी प्रस्तुति दिनेछन्। (रासस)