काठमाडौं - उपचारको लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार नेपाल फर्कदैछन्। उनी थाई एयरवेजबाट थाइल्याण्ड हुँदै नेपाल फर्कने छन्।
प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए। उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको हो। उपचारकै क्रममा प्रधानमन्त्रीले दुईपटक टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद्का सदस्यहरूसँग सरकारका कामबारे छलफल गरेका थिए।
स्वास्थ्य स्थिति बुझ्न सिंगापुर गएका सत्तारूढ नेकपाका नेताद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडलसमेत प्रधानमन्त्रीसँगै फर्कने जानकारी स्रोतले दिएको छ। प्रधानमन्त्रीका साथमा उनकी पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन्।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने यसअघि नै फर्किसकेका छन्।