काठमाडौं– क्वारेवियन प्रिमियर लिग(सीपीएल) २०१९ खेल्नको लागि सन्दीप लामिछाने वेस्ट इन्डिज गएका छन्। उनी बार्बाडस ट्राईडेन्टसमा आबद्ध भएका थिए। उनको टिम बार्बाडसले गुयाना वारियर्ससँग आईतबार खेल्दै सीपीएलमा औपचारिकरुपमा आफ्नो यात्राको शुरुवात गर्नेछ।
नेपाली लेग स्पिनरलाई बार्बाडसले गत जेठमा ७० हजार अमेरिकी डलरमा टिममा अनुबन्ध गरेको थियो। अघिल्लो वर्ष ५ हजार अमेरिकी डलरमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले सन्दीपलाई किनेको थियो। उनले त्यसबेला उत्कृष्ट खेल प्रदर्शन गर्दै ५ खेलबाट ७ विकेट लिएका थिए। उनलाई त्यस टुर्नामेन्टमा ‘राइजिङ स्टार’ घोषणा गरिएको थियो।
६ फ्रेन्चाइज टोली रहेको लिगमा सेप्टेम्बर ३० सम्म लिग चरणका खेल खेलाइनेछन्।त्यसपछि लिग चरणका माथिल्ला ४ टोलीले प्ले अपमा स्थान बनाउने छन्।क्वालिफायर तथा एलिमिनेटर खेल भने अक्टोबर ६ र ८ मा हुनेछ। अक्टोबर १२ मा फाइनल खेल हुने आयोजकले जानकारी दिएको छ।
सन्दीपले यस टुर्नामेन्टमा उच्च प्रदर्शन गर्न सकेमा उनको आइपीएल यात्राका लागि पनि फलदायी हुन सक्छ।