एजेन्सी – श्रीलंकासँगको पहिलो टि ट्वान्टीमा न्युजिल्यान्ड ५ विकेटले विजयी भएको छ।टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो। श्रीलंकाका लागि ओपनर कुशल मेन्डिसले ५३ बलमा ८ चौका र २ चौका सहित ७९ रनको योगदान दिएका थिए।
१ सय ७५ रनको विजय लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९.३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो। ‘म्यान अफ द म्याच’ बनेका पुर्व कप्तान रोश टेलरले न्युजिल्यान्डको पारीमा २९ बलमा ३ चौका र २ छक्का सहित ४८ रनको योगदान दिएका थिए। त्यस्तै एक समयमा कमजोर देखिएको न्युजिल्यान्डलाई चौथो विकेटका लागि टेलर र कोलिन डी ग्राण्डहोमले ७९ रनको उत्कृष्ट साझेदारी गर्दै जिततिर्फ डोर्याएका थिए।
श्रीलंकाका लागि तीव्र गतिका बलर तथा कप्तान लाथिस मलिंगाले विश्व कीर्तिमानी प्रदर्शन गरेपनि जित दिलाउन भने सकेनन्। मलिंगाले यस खेलबाटै टि २० क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडीको रेकर्ड कायम गरे। उनले पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीको ९८ विकेटको रेकर्ड तोडेका हुन्।
यससँगै तीन टि २० सिरिजमा न्युजिल्यान्डले १–० को अग्रता लिएको छ। दोस्रो टि २० खेल आगमी सेप्टेम्बर ३ मा हुने छ ।