एजेन्सी– फुटबल जगतमा बेलाबेला खेलाडीहरुको रिस मैदानमै छताछुल्ल हुन्छ। मानविय संवेदना मानिएको रिसलाई चाहेर पनि रोक्न कठिन मानिन्छ।
खेलाडीहरु कहिले रेफ्रिको निर्णयले गर्दा त कहिले कोचले प्रतिस्थापन गर्दा रिसाइरहन्छन्। कहिलेकाही आफ्नै सहकर्मीले स्थिति नबुझेकोमा पनि रिसाउछन्। यस्तै भएको छ लिभरपुलको शनिबारको खेलमा पनि।
लिभरपुलका स्ट्राइकर साडियो माने आफ्ना साथि मोहमद सलाहले पास नदिएको भन्दै मैदानभित्र अनि मैदान बाहिर पनि आक्रोसित बनेका थिए। लिभरपुलले वर्नलीविरुद्ध ३–० ले जित हात पारेको खेलमा उनले गोल हुने बलमा सलाहले आफूलाई पास नदिएको आरोप लगाएका थिए। खेलमा लिभरपुलका लागि माने र रोबर्टो फिर्मिनोले गोल गरेका थिए। एक गोल आत्मघाती भएको थियो।
लिभरपुलका कोचले भने उनी रिसाउनु स्वभाविक भएको बताएका छन्। आफू असन्तुष्ट भएको बेला रिसाउनु मानवीय संवेदना भएको भन्दै उनले अहिले सबै सामान्य भइसकेको बताएका छन्।