काठमाडौं– सोमबार प्रधानमन्त्री के पी शर्मा ओलीले सिंगापुरबाट नै मन्त्रिपरिषदको बैठकको नेतृत्व गरेका थिए। भिडियो कन्फरेन्स मार्फत बसिएको उक्त बैठकको वैधानिकता बारे प्रश्न उठेपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले उक्त बैठक मन्त्रिपरिषदको बैठक नभएको जानकारी दिए। प्रधानमन्त्रीसँगको सामान्य छलफल भएको उनको भनाइ थियो।
यसपश्चात् विवाद झन् अलमल्लमा परेको छ। प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइसकेको अवस्थामा मन्त्रिपरिषदको बैठकको अध्यक्षता पोखरेलले नै गर्नुपर्ने बुझिन्छ। जसका लागि प्रधानमन्त्रीको कुनै आवश्यकता पर्दैन । तर ओली आफैँले ट्विट गर्दै मन्त्रिपरिषदको बैठक बस्न सम्भव भएको भन्दै प्रविधिलाई धन्यवाद दिन भ्याए।
उनका प्रमुख राजनीतिक सल्लाहकारले पनि तस्बिरहरु सार्वजानिक गर्दै यसको पुष्टि गरेका थिए। तर सरकारका प्रवक्ताले नै मन्त्रिपरिषद बैठक नभएको जनाएपछि बास्तविकता के हो सरकारले नै स्पष्ट पार्छ कि?