काठमाडौं – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार राम प्रसाद प्याकुरेलाई दुरव्यवहार गर्नेमाथि कारबाही गर्न सांसद पुष्पा भुसालले माग गरेकी छन्। प्रतिष्ठान बचाउ अभियानका प्रतिनिधिहरुले रजिष्ट्रार प्याकुरेलमाथि बुधबार कार्यकक्षमै दुरव्यवहार गरेका थिए।
संसदमा सोही विषयबारे बोल्दै कांग्रेस संसदीय दलकी सचेतक समेत रहेकी भुसालले दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेकी हुन्। ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ ११ गते रजिष्ट्रारलाई हातपात गरेर अप्ठ्यारो स्थिति सिर्जना गरिएको छ। किटानी जाहेरी गरिएपनि कानुनी कारबाहीको कठघरामा ल्याउन त्यहाँको प्रहरीले सकेको छैन। म ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्।
सांसद भुसालले वैधानिक ढंगबाट नियुक्त भएको व्यक्तिलाई भय सिर्जना गरेर राजीनामा दिन बाध्य गाराउन खोजिएको भन्दै यस्ता कार्य बन्द गराउन माग गरिन्। प्रतिष्ठानका पदाधिकारीहरु कांग्रेसले नियुक्त गरेको नाममा अहिले सुत्केरी भत्तासमेत कटौती गरिएको भन्दै उनले सहयोग रोकेर सरकारले खेलवाड गरेको बताइन्।