वीरगञ्ज – वीरगञ्जका मेयर विजय सरावगी र अन्य जनप्रतिनिधिविरुद्ध अपमानजनक प्रदर्शन भएको छ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज जनप्रतिनिधिहरुले जनभावनाअनुसार काम नगरेको भन्दै नाराबाजी गरेको हो।
महानगरपालिकाबाट सेवा सुविधा नलिने घोषणा गरे पनि मेयरले त्यस्तो नगरेको उनीहरुको आरोप छ। जनप्रतिनिधिहरुले आर्थिक हिनामिना गरेको, जनताको समस्यामा ध्यान नदिएको, विकास निर्माणका काम नगरेको प्रदर्शनकारीको भनाइ छ। लामखुट्टे, छाडा पशु चौपाया नियन्त्रण गर्न नसकेको, सरसफाइको काम नभएको भन्दै ज्ञापनपत्र समेत बुझाएको छन्।
राजपाको केन्द्रीय सदस्य रम्भा मिश्रले महानगरपालिकामा उनीहरु आएदेखि एउटा पनि काम नगरेको भन्दै नसुध्रियमा झन कडा आन्दोलन गर्ने बताए। लामखुट्टेको टाउकोमा मेयरको फोटो राखेर सांकेतिक तरिकाले विरोध गरेका हुन्।