यमुना राना, काठमाडाैं - बिशेषगरी हिन्दु महिलाहरुको महान चाडको रुपमा चिनिने तिज आउन अब केही दिन मात्रै बाँकी छ। यही भाद्र १६ गते परेको हरितालिका तिज हर्षोल्लासका साथ मनाउने तयारीमा महिलाहरु जुटिसकेका छन्।
बिशेषगरी माइती र चेलीविचको सम्वन्धमा मत्वपुर्ण भुमिका निभाउने तिजको महत्व र मनाउने तरिका समयसंगै फेरिएको छ। केही वर्ष अगाडीसम्म माइती भन्दा टाढा रहेका चेलीहरु वर्षभरी आफ्नो घर व्यवहारका कारण माइत जान नपाउने र तिजमा माइती लिन जानुपर्ने चलन थियो।
वर्षभरी भेट नभएका आमा, दिदिबहिनी, दाजुभाइ र साथीसंगीहरु भेट हुँदाको खुशी नाचगान गरेर साट्ने चलन थियो। अझ भनौं गीतद्वारा व्यक्त गर्ने चलन थियो। माइती परिवार तथा साथीसंगीहरुसंग सुखःदुख बिसाउने चाडको रुपमा तिजलाई लिने गरिन्छ।
महिलाहरुको शिक्षामा पँहुच नहुँदासम्म महिलालाई घरपरिवारमा हेप्ने र दुख दिने संस्कार भएका कारण पनि महिलाहरु तिजमा माईत जान पाउँदा खुशी र राहत महशुस गर्ने गर्दथे। समय परिवर्तनसंगै यस चाडलाई फराकिलो तरिकाले मनाउन थालिएको छ।
महिलाहरुको शिक्षामा पहुँच भएपछि कार्यालय तथा संघ–संस्थामा काम गर्ने महिला हरु एकआपसमा मिलेर सामुहिक रुपमा दर खाने कार्यक्रम गरी नाचगान गर्ने चलन बढेको छ। खासगरी २ दिन मात्र मनाईने तिज पर्वलाई अहिले भने महिनाभरी दर खाने कार्यक्रमको आयोजना गरी मनाउन थालिएको छ।
धार्मिक रुपमा आफ्नै महत्व रहेको तिजमा अबिवाहित युवतीहरुले राम्रो वर पाउनको लागि भगवान शिवजीको व्रत बस्ने चलन छ भने विवाहित महिलाहरुले आफ्ने पतिको सु–स्वास्थ्य तथा दिर्घायुको लागी कामना गरे मनोकांक्षा पुरा हुने विश्वास छ।
समाज परिवर्तनसंगै सबै कुराहरु स्वस्फुर्त रुपमा परिवर्तन हुँदै जाने भएपनि आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महिलाहरुको महान चाड तिजलाई यसको महत्व जोगाई मनाउन जरुरी छ।