काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा भन्सार र अन्तशुल्क छुट दिएको तर कतिपयले ब्याट्रीबाट स्टार्टमात्र हुने गाडीहरु आयात गर्न खोजेको गुनासो गरेका छन्।
‘तपाईहरुले ब्याट्रीले मात्र स्टार्टमात्र हुने, चल्दा चाहिँ डिजेल पेट्रोल नै चाहिने गाडी ल्याएर भन्सारमा राखिदिनुभयो,’ खतिवडाले भने, ‘हामीले दिने विद्युतीय सवारी साधनको छुट त्यस्तो होइन कि ९० प्रतिशत परम्परागत ऊर्जा डिजल पेट्रोल नै खर्च होस्, १० प्रतिशतचाहिँ विद्युतको प्रयोग होस् अनि तपाईलाई भन्सारमा सबै प्रकारको छुट होस्।’
त्यस्ता गाडीमा सरकारले भन्सार छुट नदिने भन्दै उनले आयात नगर्न व्यवसायीलाई अनुरोध गरेका छन्। साथै मन्त्री खतिवडाले इमान्दार भएर उद्योग व्यापार चलाउन व्यवसायीहरुलाई आग्रह गरेका छन्। घाटाको व्यापार सरकारले पनि नगर्ने भन्दै उनले छलीको प्रयास नगर्न चेतावनी समेत दिए।
नाडा अटो शो(२०१९ को उद्घाटन समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले भने, ‘तपाईंहरुले सरकारलाई छल्ने कामचाहिँ नगर्दिनुस्। सरकार पनि इमान्दारीपूर्वक तपाईंहरुसामू पेश हुन चाहन्छ, तपाईंहरु पनि इमान्दारीपूवर्क पेश भइदिनुस्। अनि हामी टेबलमा बसेर कुरा गर्न सक्छौं।’
राज्यको नीति पनि लाभकै
उनले व्यवसायीका लागि कर लगायतका छुट दिन तयार रहेपनि घाटाको व्यापार भने नगर्ने स्पष्ट पारेका छन्। व्यवसायीले १० प्रतिशत पनि मूल्य अभिवृद्धि नहुने सामान ल्याएर उत्पादन गर्ने अनि सरकारले दुईसय ८० प्रतिशत राजश्व गुमाउनुपर्ने अवस्था हुन नहुने उनको धारणा छ।
‘घाटाको व्यापार यो सरकारले पनि गर्दैन,’ उनले भने, ‘निश्चित संरक्षण दिने हो। आउनस् उद्योग खोल्नुस् र त्यो संरक्षण दिन चाहिने जति अन्तशुल्क होस, भन्सार होस्, कर छुटहरु दिनको लागि सरकार तयार छ।’
कम्तिमा २० प्रतिशत मूल्य अभिवृद्धि नहुने बस्तुले औद्योगीकरणमा योगदान नदिने भन्दै उनले यसबारे धेरै बहस आवश्यक नभएको बताएका छन्।