बुटवल – ठगीको आरोप लागेका वाणगंगा नगरपालिका, नेकपा अध्यक्ष विश्व कार्की कारबाहीमा परेका छन्। कार्कीले युवालाई सरकारी जागिर लगाइदिने प्रलोभनमा पारी ठगी गरेको उजुरी तथ्यसंगत भेटेपछि नेकपा कपिलवस्तुले वाणगंगाको अध्यक्षबाट हटाएर उनीमाथि कारबाही गरेको हो।
नेकपाका जिल्ला नेता डम्बर शर्माले कार्कीले सरकारी जागिर लगाइदिन्छु भन्दै युवालाई ठगी गरेको पुष्टि भएको छ भन्दैे आइतबार जिल्ला कमिटीको बैठक बसेर कार्कीलाई पदमुक्त गर्ने निर्णय गरिएको जानकारी प्राप्त भएको छ।
सरकारी जागिरको प्रलोभन देखाएर कार्कीले ४५ लाख ठगी गरेको भन्दै गत ३२ साउनमा गुल्मी र बागलुङका १२ युवाले उजुरी गरेका थिए। रकम फिर्ता माग गर्दा कार्की सम्पर्कमा नआएको भन्दै पीडितहरूले उनीमाथि कारबाही गर्न माग गरेका थिए।
जसमा कार्कीले शिक्षकका लागि चार लाख ५० हजार, स्वास्थ्य सेवाका लागि तीन लाख र प्रहरीका लागि दुई लाख ६० हजार रुपैयाँका दरले १२ जनाबाट ४५ लाख ३० हजार रुपैयाँ असुलेका थिए।
कार्की विवादास्पद छवी भएका व्यक्ति हुन्। यसअघि पनि विभिन्न अभियोगमा पार्टीबाट उनले कारबाही झेलेका थिए । वाणगंगा नगरको अध्यक्ष बनाउँदा पनि नेता तथा कार्यकर्ताले विरोध गरेका थिए। पार्टी जिल्ला अध्यक्ष निकट भएकै कारण उनीभन्दा सिनियर नेता हुँदाहुंदै कार्कीलाई जिम्मेवारी दिइएको नेता–कार्यकर्ताको आरोप रहँदै आएको छ।
कार्कीलाई कारबाही गर्दै नेकपा कपिलवस्तुले वाणगंगा नगरपालिकाको अध्यक्षको जिम्मेवारी शंकर पाण्डेलाई दिएको छ। उनी नेकपा कपिलवस्तुका जिल्ला सचिवालय सदस्य रहेका छन्।