काठमाडौँ – संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन भएको छ। लामो समयदेखि अलपत्र रहेको चाबहिल–साँखु सडकखण्डको अवस्थाबारे बुझ्न सांसदहरु थलामा नै पुगेका हुन्। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति, सदस्य र सडक आयोजनाका कर्मचारीसहितको टोलीले चाबहिल, जोरपाटी हुँदै साँखुसम्म पुगेरनै सडकको अवलोकन गरेका हुन्।
अवलोकनको क्रममा समितिका सभापति कल्याणीकुमारी खड्काले सडकको मर्मत तथा भत्काउन बाँकी रहेका घरको अवलोकन गर्दै काम छिटो सम्पन्न गर्न र महानगरीय प्रहरी वृत्त बौद्धको भवन अगाडि केही संरचना भत्काउनसमेत निर्देशन दिइन्।
वि.स २०७२ मा दुई वर्षभित्र चाबहिल–साँखु सडकखण्ड विस्तारको काम सक्ने गरी सडक निर्माण शुरु गरिएको थियो। तर सडक निर्माणको अवधि सकिँदा पनि अझै आधा काम भने पनि सकिएको छैन।
सरकारले चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्याएको थियो।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर सोही साल असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो। कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर रहेको उक्त सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले सडक विस्तार गरिरहेका छन्।