काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पार्टीका नेताहरुमा अनुशासनको कमी रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। नेकपाका सांसद तथा नेताहरुले आफूखुशी अभिव्यक्ति दिने गरेको भन्दै उनले आक्रोस पोखेका हुन्।
पार्टीभित्रका शीर्ष नेताहरुबीचको विवादका समाचार आइरहेका बेला प्रचण्डले नेताहरुले मनलाग्दि रुपमा बोल्ने गरेको आरोप लगाए। यस्ता घटनाहरुले राम्रो सन्देश नजाने बताउँदै उनले सबैलाई अनुशासनमा बस्न र एक भएर अगाडि बढ्न समेत आग्रह गरेका छन्।
पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच पार्टीको सचिवालय बैठकमा भएको चर्काचर्कीतर्फ उनको भनाइ लक्षित थियो। स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली सिंगापुर जानुपुर्व बसेको उक्त बैठकमा नेताबीचको असन्तुष्टि छरपस्ट भएको थियो।
प्रचण्डले नेताहरुमा बढ्दै गएको घमण्डले उनीहरुलाई नै हानि पुर्याउने भन्दै यस्तै शैली रहिरहने हो भने भोलिका दिनमा नेताहरुप्रति जनताको विश्वास सकिने समेत बताएका छन्।