घोराही - दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करिब रु. ६५ लाखको क्षति भएको छ।
उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासि आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ। उनले भने, “मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो।”
विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आचार्यको अनुमान छ। लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरी लगायतको सक्रियतामा आगो निभाइएको थियो। (रासस)