खार्तुम - अफ्रिकी मुलुक सुडानका विपक्षीहरूले नयाँ बन्ने सङ्क्रमणकालीन सरकारको प्रधानमन्त्रीमा विपक्षीहरूका तर्फबाट अब्दल्ला हाम्डोकको नाम प्रस्ताव गरेका छन्। अब्दल्लालाई बिहीबार मुख्य विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सका तर्फबाट सर्वसम्मत रूपमा चयन गरिएको हो।
सुडानी पेशाकर्मी संघले एक विज्ञप्ति जारी गरी डा. अब्दल्ला हाम्डोकको नाम सर्वसम्मत रूपमा चयन गरिएको जनाएको छ। सुडानी सेना र आन्दोलनकारी पक्षबीच नयाँ सङ्क्रमणकालीन सरकार ३ वर्ष ३ महिना सञ्चालन गर्ने यसअघि सहमति भएको थियो। खार्तुम विश्वविद्यालयबाट बीएस्सी र बेलायतको म्यान्चेस्टरबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका हाम्डोकले सन् १९८० को दशकमा अर्थ मन्त्रालयमा वरिष्ट अधिकारीका रुपमा कार्य गरिसकेका छन्।
सन् १९९० को दशकमा हाम्डोकले निजी कम्पनीका साथै जिम्बाब्बेमा अन्तर्राष्ट्रिय श्रम संगठनका तर्फबाट वरिष्ठ अधिकारीका रूपमा काम गरेका थिए। उनीसँग आइभरीकोस्टमा अफ्रिकी विकास बैंकमा धेरै वर्ष काम गरेको अनुभव छ। सन् २०१८ सेप्टेम्बरमा हाम्डोकलाई पूर्वराष्ट्रपति ओमार अल–बासिरले अर्थमन्त्रीका रूपमा प्रस्ताव गरेका थिए तर उनले बासिरको प्रस्तावलाई अस्वीकार गरेका थिए।
विपक्षी गठबन्धन र संक्रमणकालीन सैनिक परिषद (टीएमसी)ले शनिबार विशेष कार्यक्रमबीच राजनीतिक एवं संवैधानिक व्यवस्थाका बारेमा घोषणा हुनेछ। आगामी सोमबार सम्झौताबमोजिम नयाँ सरकारले शपथ ग्रहण गरेसँगै संक्रमणकालीन सैनिक परिषद् विघटन हुनेछ। प्रधानमन्त्रीको आगामी अगस्ट २० तारिखमा नियुक्त हुने र त्यसको भोलिपल्ट शपथ हुनेछ।
त्यसपछि अगस्ट २८ मा नयाँ सरकारका मन्त्रीहरूको नाम सार्वजनिक गरिनेछ। संविधानबमोजिम गठन हुने सार्वभौम परिषदमा ११ जना सदस्य रहनेछन्, जसमा पाँच जना नागरिक तहबाट, पाँच जना सैनिक र एक जना मनोनीत हुनेछन्। मन्त्रिपरिषदमा २० जना हुनेछन्, जसमा रक्षा र गृहमन्त्रीबाहेक फ्रिडम एन्ड चेन्ज एलायन्सबाट मनोनीत गरिनेछन्। यी दुई मन्त्रालयको जिम्मेवारी सेनाले लिनेछ। (रासस/सिन्ह्वा)