हाङचाउ (चीन) - चीनमा शनिबार आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ। यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेकाे स्थानीय अधिकारीहरूले बताएका छन्।
लेकिमालाई यस वर्ष आएको नवौँ आँधी भनिएको छ। यस भीषण आँधीबाट झेजिआङका करिब ६६ लाख ८० हजार नागरिक प्रभावित भएका सोमबार प्राप्त समाचारमा जनाइएको छ। तीमध्ये १२ लाख ६० हजार नागरिक विस्थापित भएका छन्। उनीहरूलाई उद्धार गरी सुरक्षितस्थलतर्फ लगिएको थियो। यस आँधीबाट २४.२२ अर्ब युआन प्रत्यक्ष रूपमा आर्थिक हानि भएको बताइएको छ।
यस आँधीबाट २ लाख ३४ हजार हेक्टर जमिनको बालीनाली नष्ट भएको पनि प्राप्त एक समाचारमा जनाइएको छ। स्थानीय समयअनुसार शनिबार दिउँसो १ः४५ बजे झेजिआङ प्रान्तको बेन्लिङ शहरमा लेकिमाको प्रवेश भएको थियो। त्यसैगरी आइतबार राति ८ बजे शानडोङ प्रान्तको किङ्गडाओमा सो आँधी प्रवेश भएको थियो।
लेकिमाबाट शानडोङमा ५ व्यक्तिको मृत्यु हुनाका साथै अन्य ७ जना स्थानीय बेपत्ता भएका छन्। यस आँधीबाट सो प्रान्तमा १६ लाख ६० हजार व्यक्ति प्रभावित भएका छन्। सो प्रान्तमा सोमबार बिहानसम्म १ लाख ८३ हजार ८ सय आँधी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको प्रान्तीय सङ्कटकालीन व्यवस्थापन विभागले जनाएको छ। (रासस/सिन्ह्वा)