काठमाडौँ — युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सुशासन, विकास र समृद्धिको राष्ट्रिय अभियानमा एकजुट भएर लाग्न युवाहरूलाई आग्रह गरेका छन्।
युवा क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थाद्वारा आयोजित ‘राष्ट्रिय युवा अधिकार महाभेला २०७६’ कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले यस्तो आग्रह गरेका हुन्। ‘गायक पशुपति शर्माले गाउनुभएको गीतहरूले समाजलाई सम्बोधन गरेका छन्। अमेरिका, जापान, बेलायत सबै यही हाम्रो नेपाल हो। देशको भविष्य र आफ्ना आफन्तको खुशीका लागि युवाहरूले खाडीमा गर्ने परिश्रम स्वदेशमै बसेर गर्नुपर्छ,’ उनले भने।
कार्यक्रममा गायक पशुपति शर्मालाई सम्मान गरिएको थियो। गायक शर्माले सामाजिक जनचेतना र वस्तुस्थितिका बारेमा गीत गाएको भन्दै आफ्ना रचनाहरूलाई व्यङ्ग्यका रुपमा ग्रहण गर्न आग्रह गरे।
अन्तर्राष्ट्रिय युवा दिवस २०१९ का अवसरमा युथ एड्भोकेसी नेपाल, संकल्प नेपाल, युवा नेपाल लगायतका गैरसरकारी संस्थाले कार्यक्रम आयोजना गरेको हो।