बुटवल - नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सरकार मुठभेडतर्फ उन्मुख भइरहेको आरोप लगाएका छन्। उनले राज्य दमनमा मात्र होइन, हत्यामा लागेको दाबी गरे। ‘मुठभेठमा मारियो भनिएको छ, मर्ने मान्छेको हातखुट्टा भाँचिएका छन्, बंगारा झरेका छन्, यस्तो पनि मुठभेड हुन्छ ?,’ उनले प्रश्न गर्दै भने, ‘देश कता गइरहेको छ ?’
२५औँ विश्व आदिवासी जनजाति दिवसको मूल समारोहलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता खाँणले संसदलाई अधिनायकत्व प्रदर्शन गर्ने थलो बनाउन खोजिएको आरोप लगाए।
देश निरंकुशतातर्फ उन्मुख भएको दाबी गर्दै पूर्व रक्षामन्त्रीसमेत रहेका नेता खाणले आयोगहरुले संविधानविपरीत काम गर्नु, गैरन्यायिक तवरले हत्या बढ्नु यसको पुष्टि गर्ने आधार भएको बताए। ‘यसले लोकतन्त्र नै खतरामा परिसकेको छ,’ उनले भने।
उनले लोकतन्त्र नै नरहे यहाँ पहिचानको आन्दोलनको पनि अर्थ नहुने भन्दै पहिचानको आन्दोलन निष्कर्षमा पुर्याउन पहिले लोकतन्त्र बचाउनुपर्ने धारणा राखे।
नेता खाँणले संसदीय समितिको निर्देशनविपरीत संविधानको मर्मविरुद्ध गएर लोकसेवा आयोगले समावेशिताको सिद्धान्तलाई लत्याउनु दुःखद भएको समेत टिप्पणी गरे। लोकसेवाले जल, जमिन र भूमी जोगाएर बस्ने आदिवासी जनजाति, मुस्लिम, दलित, महिला लगायतलाई अन्यायमा पारेको उनको ठहर थियो।