मेक्सिको सिटी - अमेरिकाको मिसिसीपी राज्यमा केही दिनयता गरिएको खोजी अभियानका क्रममा कम्तीमा पनि १ सय २२जना मेक्सिकन कामदार पक्राउ परेका छन्। मेक्सिकोको विदेश मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत सो जानकारी गराएको समाचारमा जनाइएको छ।
उक्त राज्यका विभिन्न खाद्यान्न प्रशोधन केन्द्रमा अमेरिकी प्रहरीले गरेको खोजी अभियानका क्रममा ती अवैध रूपमा काम गरिरहेका आप्रवासीहरूलाई नियन्त्रणमा लिइएको प्राप्त समाचारमा जनाइएको छ। मेक्सिकोको विदेशमन्त्री मार्सेलो एबराडले केही समयअघि १ सय ७ जना मेक्सिकन अमेरिकाको मिसिसीपीमा पक्राउ परेका जानकारी दिएका थिए। तर, बिहीबार सो तथ्याङ्क अद्यावधिक गर्दै १ सय २२ जना नागरिक पक्राउ परेको जानकारी गराएका हुन्।
अमेरिकामा बुधबारमात्र वैधानिक कागजविना नै अमेरिकामा बसेर काम गरिरहेका ६ सय ८० जना मेक्सिकन पक्राउ परेको बताइएको थियो। तीमध्ये कतिपय अदालतको आदेशबाट रिहा भइसकेका छन्। मेक्सिकोका विदेशमन्त्री मार्सेलोले ती नागरिकलाई मेक्सिकोको तर्फबाट कानूनी परामर्श र आवश्यक कानूनी दस्तावेज उपलब्ध गराइएको जानकारी पनि दिएका छन्।
अमेरिकाका खाद्यान्न केन्द्रहरूमा कार्यरत मेक्सिकन नागरिकमध्ये अमेरिकाले पहिलोपटक एकैदिन यति धेरैलाई पक्राउ गरेको पनि उनले बताएको प्राप्त समाचारमा जनाइएको छ। ती पक्राउ परेकाहरू अमेरिकामा विनाकागजात नै बसेर काम गर्दै आएका नागरिक रहेको अनुमान गरिएको छ। तर, उनीहरूसँग के कति कागजात छन् भन्नेबारेमा भने कुनै जानकारी गराइएको छैन। पियु रिसर्च सेन्टरको एक तथ्यांकले अमेरिकामा कम्तीमा पनि ४९ लाख मेक्सिकनको बसोबास रहेको बताएको छ। (रासस/सिन्ह्वा)