राँझा - नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलमा दुई कपडा पसलमा आगजनी हुँदा रु. डेढ करोड बढीको क्षति भएको छ। कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदनकुमार शाहको बडिमालिका अर्डर एन्ड सप्लायर्समा मङ्गलबार राति आगलागी भएको थियो।
आगलागीबाट दुवै पसलमा रहेका सामान जलेर नष्ट भएकाले रु. डेढ करोडको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बाँकेका एसपी वीरबहादुर वलीले जानकारी दिए। उनका अनुसार बडिमालिकाबाट शुरु भएको आगो छेउमा रहेको प्रेरणा फेन्सी स्टोरमा सल्किएको थियो।
आगलागी विद्युत् चुहिएर भएको आशङ्का गरिएको छ। उपमहानगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका थिए। पछिल्लोपटक नेपालगञ्जमा विद्युत् चुहिएर पसलमा आगजनीका घटना बढेका छन्। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले वैशाखयता मात्रै ४ वटा पसलमा आगलागी भई करोडौँको क्षति भएको बताए।
उनले आगलागीपीडित व्यवसायीलाई राहत र क्षतिपूर्तिको व्यवस्थापनका लागि आफूले पहल गर्ने बताउँदै सहयोगका लागि उद्योगी, व्यवसायीलाई आग्रहसमेत गरे। (रासस)