काठमाडौँ – असार २४ गते देखि अवरुद्ध संसद् सोमबारदेखि शुरू भएको छ। संघीय संसद् भवन नयाँवानेश्वरमा बसेको सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउनका लागि अध्ययन तथा सुझाव विशेष समिति गठन गर्ने सहमतिपछि संसद् बैठक सुचारू भएको हो।
सहमति भएअनुसार सोमबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १ सय ७७ बमोजिम अध्ययन तथा सुझाव संसदीय विशेष समितिमा रहने सदस्यहरुको नामाबली पढेर सुनाएका थिए, जसको संयोजकमा नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ्ग रहेका छन्।
समितिमा नेकपाका तर्फबाट देव गुरुङ्ग र विन्दा पाण्डे, नेपाली काँग्रेसबाट पुष्पा भुसाल गौतम, मिनेन्द्रप्रसाद रिजाल, राजपाबाट लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीबाट उमाशंकर अरगरिया सदस्य छन्। समितिले सभामुखको निर्देशनमा रही काम गर्नेछ। समितिलाई १ महिनाको समय दिइएको छ।
नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दै नेपाली काँग्रेस र राजपाले असार २४ गते देखि सदन अवरुद्ध गर्दै आएका थिए।