काठमाडौं - नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज पक्राउ परेका छन्। प्रहरीले काभ्रेको भुम्लु गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा सो पार्टीका रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेललाई पक्राउ गरेको बताएको हो।
काभ्रेको धुलिखेल नगरपालिका– ५ का ढुंगेललाई एनसेलको टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले भने, ‘ यादव ढुंगेललाई टावर आगजनी र विस्फोटनमा सहभागिता देखिएकाले नियन्त्रणमा लिएका हौँ।’
त्यस्तै, इलाका प्रहरी कार्यालय बनेपाले शुक्रबार राति विप्लव समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । पनौती–४ बाट बिप्लव समूहका जिल्ला सदस्य अनिल रायमाझी र सुन्दर रायमाझीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए।
उनीहरुलाई २०७६ वैशाख १ गते बिप्लव समूहले आह्वान गरेको नेपाल बन्दका क्रममा पनौती–७ खोपासीमा विस्फोटक पदार्थ राखेर आतंक सिर्जना गरेको आरोपमा पक्राउ गरेको उनले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काभ्रेबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।