वासिङ्टन - अमेरिकाकी पूर्व प्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने सम्भावना शून्य रहेको स्पष्ट पारेकी छन्।
उनले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस प्रतिस्पर्धामा नरहेको शुक्रबार स्पष्ट पारेकी हुन्। मिचेलले देशको सेवा गर्नका लागि अन्य धेरै बाटो रहेकाले राष्ट्रपति नै बन्नुपर्ने चाहना नभएको बताइन्।
“त्यस विषयमा मेरो शून्य सम्भावना रहेको छ,” उनले राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिनेबारेमा सोधिएको प्रश्नमा भनिन्। उनले आफू युवासँग काम गर्न चाहेको र स्वस्थ जीवनका लागि धेरै परिवारलाई सहयोग गर्न चाहेको बताइन्।
आफूलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन पटकपटक आग्रह भइरहेको उनले जानकारी दिइन्। हालै मात्र अमेरिकी चलचित्र निर्माता मिचेल मुरले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विस्थापित गर्न मिचेल ओबामाले मात्रै सक्ने बताएका थिए। उनको टिप्पणीसँगै राष्ट्रपतिका लागि मिचेल ओबामाको उम्मेदवारीको चर्चा चुलिएको हो। (रासस/एएनआई)