काठमाडौँ – ललितपुर महानगरपालिकामा सञ्चालित बिउ एटीएम प्रभावकारी बनेको छ। महानगरले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सक्कल एग्रो एण्ड सिड ट्रेडर्स लगनखेलसँग सहकार्य गरेर गत असार २७ बाट पुल्चोकमा एटीएम मेसिन सञ्चालन गरेको छ।
कौसी र करेसाबारीलाई आवश्यक पर्ने मौसम अनुसारका उन्नत जातका तरकारी तथा पुष्प बिउबिजन महानगरले एटीएममा उपलब्ध गराउन शुरु गरेको छ। एटीएम सञ्चालनमा आएपछि सहरी खेती प्रवर्द्धन भई स्वच्छ सफा तरकारी आपूर्ति, घरको फोहोर घरमै व्यवस्थापन, राजस्व संकलन र नगरमा हरियाली बढाउन मद्दत पुग्ने महानगरको विश्वास छ।
मेसिनमा सबै प्रकारका बिउबिजन उपलब्ध हुने ललितपुर महानगरपालिका कृषि शाखा प्रमुख केशव अधिकारीले जानकारी दिए। उनका अनुसार सयपत्री, मखमली, सूर्यमुखी, सुपारी, जलबेडा, डेलियाजस्ता पुष्पबिउ एटीएममार्फत उपलब्ध गराइएको छ। सिमी, बोडी, तितेकरेला, काँक्रो, रायो, चम्सुर, पालुङ्गो, फर्सी, लौका, घिरौला, गोलभेडा, काउली, कुरिलो, मुला, बन्दा, अकबरे, माच्छे, भेडे खुर्सानीका बिउ पनि एटीएम मेसिनबाटै वितरण हुने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
एक प्याकेट बिउबिजन विक्री भएमा मूल्यको २ प्रतिशत महानगरलाई राजस्व जम्मा हुुन्छ। यसले विषादीमुक्त तरकारी घरमै उत्पादन गर्न मद्दत पुग्ने अधिकारीले बताए। ‘यसबाट सहर सफा राख्न मद्दत गर्छ भने उपभोक्ताहरु ठगिनबाट पनि जोगिन्छन्,’ उनले भने।
भारतीय कम्पनी बेटा अटो मेसिनले उत्पादन गरेको एटीएम मेसिनको मूल्य करिब साढे पाँच लाख रुपैयाँ पर्छ। ढुवानी र अन्य प्रक्रियागत खर्चका कारण नेपालसम्म ल्याइ पुर्याउँदा यसको मूल्य ९ लाख रुपैयाँ हाराहारी पुगेको शाखा प्रमुख अधिकारीले बताए। अधिकारीका अनुसार नेपालमा यो प्रविधि पहिलो पटक भित्रिएको हो।
एटीएमबाट बिउबिजन वितरण गर्ने प्रविधि सफल भएमा अन्य २९ वटै वडामा यसको विस्तार गर्ने महानगरको योजना छ। यसका लागि यो वर्षभित्रै किसानका लागि परिचयपत्र कार्ड वितरण गर्ने महानगरले लक्ष्य राखेको छ। सो कार्डको प्रयोग गरेर कृषकहरुले मेसिनबाट विनापैसा बिउबिजन निकाल्न सक्नेछन्।
महानगरमा दैनिक आउने १५ सयदेखि २ हजारसम्म सेवाग्राहीलाई लक्षित गरेर कार्यालयमा मेसिन स्थापना गरिएको हो। बिउबिजन निकाल्नको लागि एटीएमको स्क्रिनमा रहेको ‘प्रेस हेयर’ लेखिएको बटनमा थिचेपछि तरकारी तथा पुष्पको तस्बिर सहितको लिस्ट आउँछ। आफूलाई आवश्यक पर्ने वस्तुमा थिचिसकेपछि परिमाणका लागि ‘भेन्ट’ बटनमा थिच्नुपर्छ। त्यसपछि ‘क्यास’मा थिचेर मूल्य अनुसारको अंकमा ‘क्लिक’ गरेपछि बिउ झर्छ। २०, ५०, १०० र ५०० का नोट मेसिनले स्वीकार गर्छ। आवश्यकताअनुसार बिउबिजन खरिद गर्न सकिने छ, भने पुरानो, रङ लागेका र दोब्रिएका नोट भने मेसिनले लिँदैन।
शाखा प्रमुख अधिकारीका अनुसार एटीएमबाट बिउ निकाल्ने तरिका मेसिनमा नै लेखिएको छ तैपनि केही समस्या आइपरे उपभोक्ताहरुले सुरक्षा गार्डसँग पनि सहयोग लिन सक्छन्। महानगरमा आउने ग्राहकहरुको मेसिनप्रति आकर्षण बढिरहेको उनले बताए।
मेसिनबाट चम्सुर र पालुङ्गोको बिउ झिक्दै गरेकी लगनखेलकी कमला लामाले एटीएम मेसिन सजिलो भएको बताइन्। उनले भनिन्, ‘चाहेअनुसारको बिउ सजिलै निकाल्न सकिने सजिलो लाग्यो। फोटो पनि देखिने भएपछि जोसुकैले चलाउनसक्ने रहेछ,’ उनले भनिन्।