बैंकक - दक्षिण पूर्वी एसियाली संगठन (आसियान)को मन्त्रीस्तरीय बैठक जारी रहेकै बखत थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार शृङ्खलाबद्ध बम विस्फोट भएका छन्।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ समेत सहभागी यस बैठकमा आसियानका सदस्य राष्ट्रका मन्त्रीहरू सहभागी छन्। कम क्षमताका पछिल्ला बिस्फोटबाट ३ जना घाइते भएका प्रहरीले जनाएको छ। राजनीतिक हिंसाको इतिहासबाट चर्चामा रहेको थाइल्यान्डमा गत मार्चमा सम्पन्न विवादास्पद आमचुनावबाट थाइल्यान्डको जनजीवन अझै नराम्रोसँग विभाजित भएको छ।
प्रधानमन्त्री प्रयुत चान–ओ–चाले बम विस्फोटका घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कानूनी कारवाही गर्न आदेश दिएका छन्। प्रधानमन्त्रीकी प्रवक्ता नारुमोन पिन्योसिनवातले मुलुकको सुरक्षा व्यवस्थालाई कडा बनाइएको र आम जनतालाई भयभित नहुन आग्रह गरेका छन्।
टेबल टेनिस बल आकारका साना विस्फोटक वस्तु राजधानीका विभिन्न स्थानमा एकैसाथ विस्फोट गराइएका थिए। यी विस्फोटहरू ठूलो क्षति पुर्याउन नगरिएको बरु सरकारविरुद्ध सांकेतिक विरोध गर्न चाहेको देखिएको छ।
राजधानी बैंककको माहानाकोर्न टावरको वरपर बम निस्क्रिय तुल्याउने उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो। स्थानीय सुरक्षा निकायका अनुसार कम्तीमा यस टावरको वरपर तीनवटा विस्फोट भएका थिए। यी विस्फोटहरू अमेरिकी विदेशमन्त्री पोम्पेओले आफ्नो मुख्य सम्बोधन गर्नुअघि भएका थिए। विदेशमन्त्री पोम्पेओले थाइल्यान्डले आफूलाई लोकतान्त्रिक पद्धतिमा पुनः स्थापित गरेकामा थाई सरकारको प्रशंसा गरेका थिए।
थाइल्यान्ड सरकारले बम आक्रमणको उद्देश्यमाथि जथाभावी अनुमान नगर्न आग्रह गरेको छ। उपप्रधानमन्त्री प्रवित वोङसुवोनले संवाददाताहरूसँग कुरा गर्दै यस कार्यमा के कति व्यक्ति संलग्न थिए भन्ने अझै थाहा भइनसकेको जानकारी दिए। थाइल्यान्डले यसअघि अन्तिम पटक सन् २००९ मा आयोजना गरेको आसियानको शिखर बैठक पनि हिंसात्मक विरोध प्रदर्शनका कारण ओझेलमा परेको थियो।
त्यसबेला लोकतन्त्र पक्षधर राता कपडा लगाएका प्रदर्शनकारीले स्वतन्त्र चुनावमा माग गर्दै शिखर बैठक आयोजना स्थलका ढोका तोडफोड गरी सभाहलभित्र प्रवेश गरेका थिए। उक्त घटनामा सदस्य मुलुकका नेताहरूलाई थाई सेनाले हेलिकप्टरबाट उद्धार गरेको थियो। (रासस(एएफपी)