वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने थप ३ सय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका छन्।
चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गरेका हुन्। राष्ट्रपति ट्रम्पले चीनले तत्काल कुनै कदम नचाले १० प्रतिशत करवृद्धिलाई अझ बढाउने चेतावनी पनि दिएका छन्।
अमेरिकी घोषणासँगै विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुकहरू चीन र अमेरिकाबीच भइरहेको करिब ६ सय ६० अर्ब अमेरिकी डलर बराबरका आयात–निर्यातमा करवृद्धि भएको छ अर्थात् यो निर्णयबाट दुवै देशबीचको सम्पूर्ण कारोबारमा अब करवृद्धि हुनेछ।
यसअघि नै अमेरिकाले करिब २ सय ५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरिसकेको छ। राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकाररसँग भने, “अहिलेको १० प्रतिशत पनि छोटो अवधिका लागि हो र यो बढ्ने वा घट्ने कुरा चीनमा निर्भर छ। विश्वसनीय सम्झौता नभए यसलाई २५ प्रतिशतसम्म बढाइने छ।”
चीन र अमेरिकाबीच यसै साता साङ्घाईमा प्रत्यक्ष व्यापार वार्ता पुनः शुरु भएको छ। अर्को चरणको वार्ता वासिङ्टनमा सेप्टेम्बरको पहिलो साता हुनेछ। आसियान बैठकमा भाग लिन हाल बैंककमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आर्थिक तथा व्यापारिक समस्या सुल्झाउन करवृद्धिको अस्त्र रचनात्मक समाधान नभएकाे बताए।
चीनले अमेरिकी निर्णयको प्रतिवाद के कसरी गर्नेछ भन्ने स्पष्ट भएको छैन। तर, चीनले हालै अमेरिकी प्रविधि उद्योगका लागि अति आवश्यक सामानको निर्यातमा कडाइ गर्ने वा रोक्ने तथा अमेरिकी कम्पनीलाई कालोसूचीमा राख्ने सङ्केत दिएको थियो।
ट्विटरमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका राष्ट्रपति ट्रम्पले अमेरिकाबाट ठूलो परिमाणमा चीनले अमेरिकी कृषिजन्य सामान खरिद गर्ने प्रतिबद्धता व्यक्त गरे पनि त्यसो नगरेको भन्दै आक्रोश पोखेका थिए। राष्ट्रपति ट्रम्पले भनेका छन्, “त्यसबाहेक, मेरा मित्र राष्ट्रपति सीले संयुक्तराज्य अमेरिकामा फेन्टानाइल (लागूपदार्थ) विक्री रोक्ने बताएका थिए तर त्यो कार्यान्वयनमा कहिल्यै आएन। त्यही फेन्टेनाइलका कारण धेरै अमेरिकीको ज्यान जाँदैछ।”
अमेरिकी पछिल्लो निर्णयसँगै विश्व बजार तरङ्गित भएको छ। वाल स्ट्रिट, डाउ जोन्स, सिंगापुर, हङकङ र टोकियो समेतका प्रमुख शेयर बजारहरूमा कारोबार घटेको छ। (रासस/एएफपी)