काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (साेमबार) बस्ने भएको छ। पटकपटक स्थगित हुँदै आएको उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
विभाग गठनका सम्बन्धमा कुरा नमिल्दा सचिवालय बैठक पटकपटक स्थगित भएको थियो। पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य ईश्वर पोखरेलमध्ये कसलाई दिने भन्नेमा कुरा नमिल्दा सचिवालय बैठक स्थगित भएको थियो।
स्कुल विभाग प्रमुखमा भने नेकपाका नेता झलनाथ खनाल, घनश्याम भुसाल, बेदुराम भुसाल र राम कार्कीसमेतको जिकिर छ। सङ्गठन विभाग प्रमुखमा वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधवकुमार नेपालगायत सबैजसो विभागमा सहमति भए पनि निर्णय हुन भने बाँकी छ। आज बस्ने बैठकले पार्टीका विभिन्न ३३ विभागको टुङ्गो लगाउने भएको छ।
यसअघि गत साउन ५ गते बसेको बैठकले पार्टी जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोकेको थियो। सचिवालय बैठक बस्नुअघि बैठकमा छलफल गर्नका लागि पूर्वनेकपा (एमाले)बाट प्रतिनिधित्व गर्ने सवै सचिवालय सदस्यको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।
विभागको टुङ्गो लगाएपछि पार्टीले जनसङ्गठन इञ्चार्ज र विभिन्न कमिटी गठन गर्ने तयारी गरेको छ। विसं २०७५ जेठ ३ गते पार्टी एकता गरिए पनि अझैसम्म यसले पूर्णता पाइसकेको छैन। (रासस)