न्युयोर्क (संयुक्त राज्य अमेरिका) - न्युयोर्क शहरको ब्रुकलिन सडकखण्ड नजिकै खुला तथा सार्वजनिकस्थलमा भएको एक कार्यक्रममा शनिबार गोली चल्दा कम्तीमा १ को मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
घटनामा ३८ वर्षीय १ युवक गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा पुर्याएपछि बिरामीको मृत्यु भएको बताइएको छ। “स्थानीय समयअनुसार राति ११ बजे एक पार्कमा भएको कार्यक्रममा गोली चल्दा १ को मृत्यु भएको र ११ जना घाइते भएका छन्,” न्युयोर्क प्रहरी विभागले उल्लेख गरेको छ।
अन्य केही पनि गाली लागी घाइते भएकाले उनीहरूको उपचार भइराखेको बताइएको छ। घाइतेमध्ये केही गम्भीर रूपमा चोटग्रस्त भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने बताइएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म कसैलाई पक्राउ नगरेको विभागले बताएको छ।
न्यूयोर्कका मेयर बिल डे ब्लासियोले आइतबार सञ्चारकर्मीसँग भने, “आक्रमणले शान्त छिमेकीको कार्यक्रमलाई प्रभावित बनाएको छ। हामीले यस समुदायलाई सुरक्षित राख्न भरमग्दुर प्रयास गर्नेछौँ।प्रशासनले यस सडकखण्ड क्षेत्रका हतियार (बन्दुक) नियन्त्रणमा लिई अनुसन्धान अघि बढाउनेछ।” (रासस/सिन्ह्वा)