काठमाडौँ – राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले सोमबारसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने चेतावनी दिएका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलापमा रहेको दाबी गरे।
उनले भने, ‘हामीले सदनभित्र यो हत्या प्रकरणको बारेमा सत्य, तथ्य छानबिन हुनुपर्छ भनेर आवाज उठाईरहेका छौँ। तर, अहिलेसम्म सरकारले संसदीय समिति गठन गरेको छैन। सोमबारसम्म पनि समिति गठन नगरे हामी सोमबार बस्ने सदन पनि अवरुद्ध गर्छौँ।’ संयोजक यादवले तत्काल संसदीय समिति गठन गर्नुपर्ने आफूहरुको अडान कायमै रहेको सुनाए।
यादवले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने स्पष्ट पारेका छन्। उनले भने, ‘हामी पार्टीको महाधिवेशन निर्धारित मिति कात्तिक २८, २९ र ३० गते नै गर्छौँ। हाम्रो मुख्य ध्यान नै त्यतातर्फ छ।’ यादवले वर्तमान सरकार मनोमानी र एकलौटी ढंगले अगाडि बढेको आरोप लगाए। उनले भने, ‘यो सरकारले लोकतन्त्रलाई संकुचित गर्दै अघि बढेको छ। संसदभित्र विपक्षीको भूमिकालाई अझै मजबुद बनाउनुपर्छ। यसको लागि हामीले कांग्रेससँग कार्यगत एकता गरेका छौँ।’
पूर्वमन्त्रीसमेत रहेका नेता यादवले राजपा सशक्त वैकल्पिक शक्ति निर्माण गर्ने तयारीमा लागेको सुनाए। राजनीतिक, सैद्धान्तिक र वैचारिक रुपमा मिलन हुने शक्तिहरुसँग मोर्चाबन्दी हुनेपनि यादवले जनाए। उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपाललगायतका साना दलहरुसँग पनि एकताको लागि कुराकानी भैरहेको यादवको भनाई छ।
वर्तमान सरकारसँग देश र जनताको हित र पक्षमा काम गर्नसक्ने अवसर रहेको पनि त्यसलाई सदुपयोग गर्न नसकेको यादवको आरोप छ। उनले भने, ‘यो सरकारसँग देश र जनताको पक्षमा काम गर्ने ऐतिहासिक अवसर थियो। डिपार्चरको काम गर्नुपर्दथ्यो। तर, सरकारले विश्वास जगाउन सकेन्।’ ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको उनको दाबी छ। उनले थपे, ‘सबै मोर्चामा यो सरकार असफल छ।’