काबुल - अफगानिस्तानका राष्ट्रपति असरफ घानीले उच्चस्तरीय शान्ति परिषद्को सचिवालय विघटन गरेका छन्। तालिबान विद्रोहीसँग वार्ता गर्नका लागि सन् २०१० मा तत्कालीन राष्ट्रपति हमिद कारजाईले बनाएको सो सचिवालयलाई घानीले शनिबार विघटन गरेका हुन्।
अफगानी राष्ट्रपतिका प्रवक्ता सेदिक सेदिकीले परिषद्को काम नवगठित शान्ति मामिला मन्त्रालयले गर्ने भएकाले परिषद्को आवश्यकता नदेखिएको पत्रकारहरूलाई जानकारी दिए। सरकारी निकायका रूपमा परिषद्ले विद्रोही तालिवान तथा अरू आतङ्कवादी समूहहरूलाई पुनर्मिलन र मेलमिलापका लागि पहल गर्दै आइरहेको थियो।
परिषदमार्फत् राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका वार्ता तथा छलफलहरू गर्नका लागि ७४ जनाले काम गरेका थिए।
झन्डै २० वर्षदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा विभिन्न विद्रोही तथा आतङ्कवादी समूहहरू सक्रिय रहेका छन्। (रासस/एएनआई)