कावासोती - हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित स्थानीय घरधनी र जग्गाधनीहरूलाई करिब रु. ६ करोड क्षतिपूर्ति प्रदान गरिने भएको छ।
प्रसारण लाइन आयोजनाको चितवन–बर्दघाटअन्तर्गत नवलपरासीपूर्व नवलपुर क्षेत्रभित्र पर्ने घर, टहरा तथा रुखबिरुवाको क्षतिपूर्तिबापत रकम प्रदान गर्न लागिएको हो। नवलपुर क्षेत्रका विभिन्न पाँच स्थानीय तहअन्तर्गत आयोजना प्रभावितहरूलाई रु. ५ करोड ८२ लाख ६४ हजार १ सय ७८ प्रदान गर्न लागिएको आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवालले बताए। क्षतिपूर्ति निर्धारण समितिले क्षतिपूर्ति दिन सो रकम निर्धारण गरेको हो।
नवलपुरको गैँडाकोट, देवचुली, कावसोती, मध्यविन्दु र विनयी त्रिवेणीका ४७ घर, टहरा तथा ६७ जग्गाधनीका रुखबिरुवाको क्षतिपूर्तिस्वरूप रकम प्रदान गर्न लागिएको हो। जसअन्तर्गत ४७ घर, टहराको क्षतिपूर्तिबापत रु. ५ करोड ७१ लाख ६२ हजार ५ सय र ६७ जग्गाधनीका रुखबिरुवाको क्षतिपूर्तिबापत रु. ११ लाख १ हजार ६ सय ७८ रकम प्रदान गर्न लागिएको आयोजना प्रमुख जैसवालले बताए।
हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माणका क्रममा प्रसारण लाइनको क्षेत्रभित्र परेका घर, टहरा तथा रुखबिरुवाको क्षतिपूर्ति प्रदान गर्न लागिएको हो। नवलपरासीपूर्व नवलपुरको गैँडाकोट नगरपालिकाअन्तर्गत १६ घर, देवचुली नगरपालिकाअन्तर्गत तीन घर, कावासोती नगरपालिकाअन्तर्गत १८ घर प्रसारण लाइनको क्षेत्रभित्र परेका छन्।
यस्तै मध्यविन्दु नगरपालिकामा ६ र विनयी त्रिवेणी गाउँपालिकामा ४ घर प्रसारण लाइनको क्षेत्रभित्र परेकाले सम्बन्धित घरधनीलाई क्षतिपूर्ति रकम प्रदान गर्न लागिएको प्रमुख जैसवालले बताए। क्षतिपूर्ति निर्धारण समितिले उपलब्ध गराउनुपर्ने घरधनी, रुखबिरुवा पर्ने व्यक्तिको नाम र रकम निर्धारण गरिसकेकाले आयोजनाबाट रकम निकासा भएपछि चाँडै नै आयोजनाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिनेछ। (रासस)