काठमाडौँ – स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपालमा हिन्दूराष्ट्र पुर्नस्थापना नगरे र राजसंस्थालाई भूमिका नदिईए ७२ घण्टे सत्याग्रहको शुरुवात गर्ने चेतावनी दिएको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त समाजले यस्तो अल्टिमेटम दिएको हो।
समाजका संयोजक हेमविक्रम सिलवालले आफूहरुले विगत लामो समयदेखि आफ्ना माग सम्बोधन गराउनको लागि खबरदारी सभाहरु गर्दै आएको बताए। २१ औं शताब्दीमा पनि नेपालमा निषेधको राजनीति भइरहेकोमा आपत्ति जनाउँदै उनले भने, ‘परम्परागत शक्तिमाथि निषेधको राजनीति भयो।’
उनले आफूहरुले २०७५ जेठ २५ गते सभामुखलाई हिन्दूराष्ट्र र राजसंस्था पुर्नस्थापनाको लागि ज्ञापन पत्र बुझाएको सुनाउँदै आउने मंसिरसम्म पनि माग सम्बोधन नभए ७२ घण्टे लामो सत्याग्रह गर्ने चेतावनी दिएका हुन्।
जारी विज्ञप्तीमा भनिएको छ, ‘हामीले ज्ञापनपत्र बुझाएको यत्तिका समय हुँदापनि सुनुवाई भएन र हामीले गर्दै आएको खबरदारी सभा त देशभरि जारी रहिरहने छ र अबको ५ महिना भित्र कुनै सुनुवाई नभएमा हामी मंसीर १ गते देखि ७२ घण्टे, लाखौं जनताको उपस्थितिमा संत्याग्रह गर्न हामी बाध्य हुनेछौँ। सत्याग्रह गर्ने हाम्रो कुनै रहर होइन।’
कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले देश बिगार्नेहरुलाई दण्डित नगर्नाले मुलुकको यो हविगत भएको टिप्पणी गरे। उनले भने, ‘देश बिगार्नेहरुलाई हामीले कारबाही गर्न सकेको भए देश र जनताले अहिले यसरी दुःख पाउने थिएनन्। हाम्रा चेलीहरुले कंगोलगायतका अफ्रिकी देशमा गएर नाँच देखाएर विदेशीहरुलाई मनोरञ्जन दिनुपर्ने थिएन्।’