काठमाडौँ – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाएको छ। त्यसयता नेकपाका तीन जना कार्यकर्ता प्रहरीद्वारा मारिएका छन्। करिब ६ सय नेताकार्यकर्ता पक्राउ परेको गृह मन्त्रालयले जानकारी दिएको छ। पक्राउ परेकाउपर कर्तव्य ज्यान, विष्फोट, हातहतियार तथा खरखजाना लगायतका मुद्दा दर्ता भएका छन्। अदालतको आदेशमा छुटेकाहरु पनि पुनः पक्राउ पर्ने क्रम जारी छ।
समग्रमा विप्लव नेकपाका कार्यकर्ताहरुका लागि परिस्थिती प्रतिकुल छ। खुलेआम हिँडडुल गर्न सहज छैन। प्रहरी प्रशासनबाट जोगिएर हिँड्नु परेको छ। यस्तो अवस्थामा उनीहरुको दिनचर्या के–कस्तो होला भन्ने चासो हुनु स्वभाविकै हो।
गत बुधबार नेपाली पब्लिकको सम्पर्कमा आएका नेकपाका ब्यूरो सदस्य दिपक विष्ट ‘सिर्जन’ले पार्टीका कार्यकर्ताहरुको दैनिकीबारे बताएका छन्। सरकारले प्रतिबन्ध लगाए पनि आफूहरु जनताकै बीचमा रहेको नेकपाको मेची–सगरमाथा ब्यूरो सदस्य विष्टले बताए। उनका अनुसार, नेकपा कार्यकर्ताहरुले आफ्नो कार्यक्षेत्रमा स्थानीयहरुको विभिन्न काममा श्रमदान गर्ने गरेका छन्।
‘दाउरा काट्ने, मकै गोड्ने, रोपाइँ गर्ने कामहरुमा सहयोग गरिरहेका छौँ,’ आफ्नो कार्य क्षेत्रमा ४० जनाको समूहका नेतृत्वकर्ता उनले भने, ‘कसैको शौचालय बनाइदिएका छौँ। कतै बाटो मर्मत गरेका छौँ।’ अझै पनि जनताकै माझमा रहेर संगठन बिस्तार र सुदृढीकरण तथा सरकारको गलत क्रियाकलापहरुको पर्दाफास गरिरहने उनको भनाइ छ।
पछिल्लो समय सरकारले धरपकड व्यापक बनाएपछि आफूहरुले पनि सतर्कता बढाएको उनले बताए। ‘खेतबारीमा काम गर्दा पनि सेन्ट्री राख्ने गरेका छौँ। ठाउँ–ठाउँमा रहेका हाम्रा मान्छेले पनि सूचना दिइरहेका हुन्छन्,’ विष्टले भने, ‘सञ्चारका आफ्नै प्रविधि पनि विकास गरिरहेका छौँ।’ सरकारी पक्ष वा सुरक्षाकर्मीमाथि आक्रामण गर्ने पार्टीको नीति पटक्कै नभएको उनले बताए। ‘बिदा र ड्युटीबाहिर रहेका प्रहरी साथीहरुसँग कुराकानी हुन्छ, छलफल गर्छौं। तर सरकारले दमनकारी रुपमा प्रस्तुत भइरहेको छ। जसले गर्दा हामी पनि अब चाहिँ जाइ नलाग्ने, आइलागे प्रतिकार गर्ने मनस्थितिमा बनाउन बाध्य भयौँ,’ उनले भने।
सरकारको दमनकारी कदमप्रति उनले रोष प्रकट गरे। भने, ‘सैद्धान्तिक रुपमा हामी पनि वार्ता पक्षधर नै हौँ। तर सरकारको यही कार्यशैली रहिरहे वार्ता सम्भव छैन।’ सरकारले वार्ताको नौटंकी मात्र गरिरहको उनको आरोप छ। नेकपाले उठाएका देश र जनताको समस्याहरुका विषयमा छलफल गर्न सरकार साँच्चिकै गम्भिर रूपमा प्रस्तुत भए आफूहरुले त्यसको सदैव स्वागत गर्ने विष्टले बताए।
तस्बिरहरू: दिपक विष्टको फेसबुकबाट।