काठमाडौँ – झरीको महिना अब साउन र भदौ मात्र बाँकी छ। अर्थात् बर्खा करिब मध्य भइसक्यो। साउन महिना लागेपछि चाडपर्वको याम पनि शुरु भएको मानिन्छ। साउन महिनाको अर्को विशेषता भनेको यो पुरै महिना समस्त नेपाली नारीहरुका लागि आफैँमा ‘पर्वमय महिना’ पनि हो।
नेपाली नारीहरु साउनभर हरियो चुरापोते, हरियो मेहन्दी र हरियो वस्त्र लगाउँछन्। अन्य महिनाको तुलनामा यस महिनाभर नेपाली नारीहरु धर्मकर्ममा समेत बढी सक्रिय हुन्छन्। पहिले–पहिले धर्म संस्कृतिप्रति आस्था राख्ने महिलाहरु मात्र मेहन्दी र चुरा लगाउँथे।
तर हिजोआज सबैजसो महिला र अविवाहित युवतीहरुका लागि पनि मेहन्दी अनिवार्य भएको छ, ‘फेसन’जस्तै बनेको छ। साउन लागेयता हरियो चुरा, पोते र कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल बढेको छ।
केही दिनअघि कालीमाटीको एक मेहन्दी पसलमा भेटिएकी ममता नानु भन्छिन्, ‘हरेक संस्कृति, साहित्यमा महिला सुन्दरताको वर्णन छ। त्यसैले पनि आफूलाई कसरी फरक तरिकाले सुन्दर देखाउने भन्ने उपाय खोज्ने क्रममा मेहन्दी र चुराको पनि प्रयोग बढेको हो।’
इन्द्रचोकमा हरियो चुरा र मेहन्दी किनिरहेकी सुजना श्रेष्ठलाई पनि ‘साउने फेसन’ले छोएको छ। ‘सबै महिला दिदीबहिनीको हात चुरा र मेहन्दीले सजिएको छ। आफ्नो हातमा नहुँदा खल्लो हुनेरहेछ। लगाउँदिनँ भनेर बस्दा पनि मनले नै नमान्ने रहेछ,’ उनले सुनाइन्।
जब साउन लाग्छ, हरियो चुरा, मेहन्दी, हरियो कपडाजस्ता सामानहरुको विक्रीसमेत बढ्ने गर्दछ। यस्ता सामान बेच्न व्यापारीहरुलाई पनि भ्याईनभ्याई हुन्छ। साउन व्रतको महिना पनि हो। यो महिनामा शिवजीको पूजा गर्ने गर्छन्। यही महिना हरेक सोमबार शिवजीको मन्दिरमा जल चढाउन बोलबम पनि जाने गरिन्छ। साउन लागेसँगै राजधानीका असन र इन्द्रचोकस्थित चुरा पोते पसलहरु ग्राहकले भरिभराउ हुन्छन्। यस्तो भीड साउनभर हुनेगर्छ।
हरियो नै किन?
ज्योतिष शास्त्रअनुसार हरियो रंगलाई सौभाग्यको रंग मानिन्छ। साउनमा प्रकृति नै हरियाली हुन्छ। प्रकृति आफैँ पनि हरियो रंगले सिंगारिएको हुन्छ। साउनलाई मानिसले प्रकृतिसँग जोडिने महिनाका रुपमा पनि लिन्छन्। साउनमा हरियो, पहेंँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ। हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ। नेपाली समाजमा प्रकृतिको साथ रहेमा आफ्नो भाग्यमा पनि राम्रो प्रभाव पर्ने विश्वास गरिन्छ। प्रकृतिलाई इश्वरका रुपमा पूजासमेत गर्नेसमेत नेपाली समाजमा परम्परा रहिआएको छ।

पौराणिक मान्यताअनुसार साउन महिनालाई ‘देवताहरुका पनि देवता’ महादेव शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ। पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाले यसलाई बढी महत्वको रुपमा लिने गर्छन्।
साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक हरेक दृष्टिले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ। शिवजीसँग जोडिएको महिना भएकाले महिलाका लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ। हरियो चुरा र हरियै कपडामा सजिएर महिलाले साउनभर प्रकृतिको पूजा गरिरहेका हुन्छन्। यसले महिलामा नयाँ ऊर्जा दिने विश्वास पनि गरिन्छ।
