काठमाडौँ – टी–२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले दोस्रो खेलमा शानदार जित हात पारेको छ। पहिलो खेलमा कतारसँग पराजित नेपालले बुधबार भएको खेलमा मलेसियालाई ७ विकेटले हराउँदै ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै राखेको छ।
वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमै ३ विकेट गुमाएर पुरा गर्यो। मलेसियाका सफिक शरीफले १५ बलमा ३० रन तथा भिरनदीप सिंहले २१ रन जोडदा अन्य ब्याट्सम्यानले रन जोड्न सकेनन्। मलेसियालाई ८४ रनमा समेटने क्रममा नेपालका सोमपाल कामीले तीन, बसन्त रेग्मीले दुई तथा सन्दीप लामिछाने तथा करन केसीले एक विकेट लिए।
नेपाललाई पहिलो जित दिलाउने क्रममा ओपनर ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतक बनाए। १४ बलमा ५१ रन हिर्काएका केसीले तीन छक्का र पाँच चौका हाने। उनले सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडीमा आफ्नो नाम लेखाए। अघि मलेसियासंगको सिरिजमा बिनोद भण्डारीले ५१ रन बनाउने क्रममा २५ बलमा अर्धशतक बनाएका थिए।
नेपाललाई जित दिलाउने क्रममा विनोद भण्डारीले १३, प्रदीप ऐरीले १२ रान जोडे। जितसंगै नेपालको दुई खेलमा एक जित र एक हार सहित २ अंक पुगेको छ। नेपालले आगामी खेल जुलाई २७ मा कुवेतसंग र जुलाई २८ मा सिंगापुरसंग खेल्नेछ।