वीरगञ्ज - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव आज (मंगलबार) पेट्रोल पाइपलाइनको निरीक्षण गर्न भारतको मोतिहारीतर्फ प्रस्थान गरेका छन्।
सम्पूर्ण तयारी पूरा भएर उद्घाटनको अवस्थाको सो पाइपलाइनको निरीक्षण टोलीमा मन्त्री यादव, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भारतीय दूतावासका उच्च अधिकारी र नेपाल आयल निगमका अधिकारी रहेका छन्।
वीरगञ्जको अलौँस्थित एकीकृत जाँच चौकी (आईसीपी) हुँदै भारततर्फ जाने क्रममा मन्त्री यादवले भन्सारका कर्मचारीलाई निर्देशन दिने क्रममा कर्मचारीहरू राजस्व उठाउनेतर्फ सक्रिय हुनुपर्ने बताए। उनले सङ्घीय सरकार क्रमागत रूपमा एकीकृत जाँच चौकीको पूर्वाधार विकासका लागि कटिबद्ध रहेको बताएको प्रमुख भन्सार अधिकृत श्यामप्रसाद भण्डारीले बताए।
मोतिहारी रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आएपछि यसको प्रादेशिक परीक्षण सफल भएको छ। विहारको राजधानी पटनाबाट बाराको अमलेखगञ्ज डिपोमा १ हजार किलोलिटर डिजेल आइपुग्दा यसको अन्तिम परीक्षण सफल भएकाले अब उद्घाटनको पर्खाइमा रहेको आयोजना कार्यालय सिमराले जनाएको छ।
“अमलेखगञ्जमा राखिएको ट्याङ्कीमा डिजेल पठाउन पटनामा तयारी गरिएको छ र ‘स्विच अन’ गरेपछि सो डिजेल अमलेखगञ्ज आउनेछ,” आयोजनाका इञ्जिनीयर शरदकुमार पौडेलले भने। यसअघि सो पाइप लाइनबाट पानी पठाएर परीक्षण गरिएको थियो। पटनाबाट आइपुगेको डिजेल गत शुक्रबार एक कार्यक्रमबीच परीक्षण गरिएको छ। शुरुमा पाइप लाइनबाट साढे ६ सय किलोलिटर पानी र एक हजार किलो लिटर डिजेल पठाएर परीक्षण गरिएको जनाइएको छ।
प्राप्त समाचारअनुसार परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजेल आइपुग्न करिब १८ घण्टा लागेको थियो। सो पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि विहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भूभागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ । कुल लम्बाइ ६९.५ किलोमिटर रहेको सो पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर छ।
विसं २०७२ मा नेपाल–भारतबीच भएको सम्झौता अन्तर्गतको सो पाइप लाइन दैनिक २० घण्टा सञ्चालन गर्दा ४ हजार किलोलिटर डिजेल ल्याउने क्षमता रहेको छ। अमलेखगञ्जस्थित आयल निगमको डिपोमा कुल १६ हजार किलोलिटर तेल भण्डारण गर्न सकिने ट्याङ्कर निर्माण गरिएको छ।
सो पाइप लाइनको उद्घाटन दुवै देशका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा गर्ने तय भएपछि मिति तोक्ने प्रक्रिया शुरु भएको सिमरा कार्यालयले जनाएको छ। (रासस)