काठमाडौँ - पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूलाई राजनीतिक र सामाजिक हिसाबले बदनाम गराउन सहकारीमा स्रोत नखुलेको रकम छ भनी प्रचार गरिएको बताएका छन्।
महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा उनका नाममा रु. ६१ करोड स्रोत नखुलेको रकम रहेको भन्ने समाचार केही सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी पूर्वमन्त्री बस्नेतले स्रोत नखुलेको रकम छ भनी सार्वजनिक गरिएको सहकारीमा आफ्नो खाता नभएको जानकारी दिए।
सहकारीमा स्रोत नखुलेको रु. ६१ करोड छ भनी प्रचार गर्नुलाई आफूले त्यसैको कडीका रूपमा लिएको पूर्वमन्त्री बस्नेतको दाबी छ। समाचार तथ्यहीन र कपोलकल्पित भएकाले त्यसलाई विश्वास नगर्न उनले आग्रह गरे।
यसैबीच सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपकविक्रम थापाले पनि विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री बस्नेत र उनको परिवारका सदस्यको सहकारीमा खाता नभएकाले स्रोत नखुलेको पैसासमेत नराखेको उल्लेख गरेका छन्। (रासस)